काठमाडौ –
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियो आएपछि उद्धारका लागि पहल गर्नुभएको छ ।
उहाँले उपचार र उद्धारका लागि पहल गरेपछि साउदी अरेबियास्थित नेपाली दूतावासले तत्कालै चासो दियो ।
शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो प्रकाशित भएको थियो ।
आइतवार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उहाँ रहेको स्थानमा गएर उहाँको अवस्थाबारे जानकारी लिएको छ ।
श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लग्नुभएको सुखद खबर आएको छ ।
नेपाली दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो ।
आठमध्ये एकजना नेपाल फर्किसक्नुभएको छ भने अन्य छ जना मंगलवार नेपाल फर्कने तयारीमा हुनुहुन्छ ।
रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । तर, उहाँमाथि पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ ।
उहाँ बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभयो ।
रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताउनुभयो । जनबोलीलाई प्राप्त भिडियो यस्तो थियो ।