काठमाडौँ –
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका छन् ।
चीनमा उपचारपछि स्वास्थ्यलाभ गरेर सोमबार साँझ स्वेदश फर्किएका पुनले अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा महासचिवमा आफ्नो स्वाभाविक दाबी रहेको बताए।
आफू यसअघि नै पार्टीको सचिव रहिसकेकाले महासचिवमा दाबी गर्नु स्वभाविक रहेको उनको भनाइ थियो। आफूले उपचारका क्रममा चीनमा रहेकै बेला अध्यक्ष प्रचण्ड,
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित अरु नेताहरुसँग महासचिवमा दाबी प्रस्तुत गरेको पुनले बताए। स्थानीय कमिटीदेखि प्रदेश हुँदै पार्टी अध्यक्ष र
केन्द्रीय समितिको चयन सर्वसम्मतिबाट भएको भन्दै उनले वरिष्ठ नेता, उपाध्यक्ष र महासचिवसहित पदाधिकारी चयन पनि सहमतिमै हुने बताए।
‘महाधिवेशन चलिरहेकै बेला मैले पार्टी अध्यक्ष, वरिष्ठ नेता र अरु साथीहरुसँग कुरा हुँदा महासचिवमा दाबी गरेको साँचो हो,’ उनले भने, ‘म यसअघि सचिव भएर काम गरिसकेकाले महासचिवमा दाबी गर्नु स्वाभाविक हो।’
भरसक सहमतिमै पदाधिकारी चयन हुने र प्रक्रियामा गए आफू फेस गर्ने उनको भनाइ थियो। आफू उपचारका क्रममा देशबाहिर रहेका बेला पार्टीको आठौं महाधिवेशन भएको र त्यसमा सहभागी हुन नपाउँदा दुःख लागेको पुनले बताए।
यो पनि : सिंहदरबारका कार्यालय सार्न बबरमहलमा ६ अर्बको प्रशासनिक प्लाजा
सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको स्वरूप फेर्न साढे नौ अर्बको गुरुयोजना बनाएको छ । सिंहदरबारलाई खुला र व्यवस्थित गराउन लागेको हो ।
योजनाअनुसार सबै मन्त्रालय सिंहदरबारभित्रै अटाउनेछन् भने हाल सिंहदरबारभित्र रहेका आधा दर्जन कार्यालय अन्यत्र सारिनेछन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारबाहिर छ । संसद् भवन पनि सिंहदरबारभित्रै बनिरहेकाले कार्यपालिका,
व्यवस्थापिका र न्यायपालिका अब एकै पर्खालभित्र अटाउनेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगाना नेतृत्वको सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन निर्देशक उपसमितिले गुरुयोजनाको मस्यौदा तयार गरेर
मुख्यसचिव शंकरदास बैरागीलाई ब्रिफिङ गरिसकेको छ । बैरागी सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन निर्देशक समितिको संयोजक हुन् । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी एवं उपसमितिका सदस्यसचिव राजु न्यौपानेका अनुसार
सिंहदरबारलाई खुला र व्यवस्थित बनाउन बबरमहलस्थित वन परिसरमा तीनवटा ब्लकको एउटा प्रशासनिक प्लाजा बनाउने प्रस्ताव गरिएको छ । सिंहदरबारबाट हटाउने प्रशासनिक कार्यालय त्यहाँ एउटै छाताभित्र रहनेछन् । उक्त प्लाजाका लागि ६ अर्ब र सिंहदरबारभित्र संरचना निर्माणका लागि साढे तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।
सिंहदरबारका कार्यालय सार्न बबरमहलमा ६ अर्बको प्रशासनिक प्लाजा
गुरुयोजनाअनुसार सिंहदरबारबाट हटाइने कार्यालय स्थानान्तरण गर्न बबरमहलस्थित वन परिसरमा प्रशासनिक प्लाजा बनाइनेछ । सबै प्रशासनिक कार्यालयलाई एकै छातामुनि राख्न प्लाजा बनाउन लागिएको र ६ अर्ब लागत अनुमान
गरिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी एवं उपसमितिका सदस्यसचिव राजु न्यौपानेले बताए । हाल सिंहदरबारभित्र रहेका राष्ट्रिय सतर्कता केन्द्र, मुद्रण विभाग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, प्रशासनिक अदालत, निजामती
कर्मचारीको आधिकारिक ड्रेड युनियनको कार्यालय प्लाजामा स्थानान्तरण हुनेछन् । वन परिसरमा रहेका वन मन्त्रालयअन्तर्गतका कार्यालय पनि प्लाजामै रहनेछन् । सिंहदरबारबाट अस्थायी प्रकृतिका क्यान्टिन तथा अन्य टहरा पनि हटाउने योजना छ ।
सबै मन्त्रालय सिंहदरबारभित्रै रहने, चार मन्त्रालयका नयाँ भवन बन्ने
स्वास्थ्य तथा जनसंख्याबाहेक सबै मन्त्रालय अहिले पनि सिंहदरबारभित्रै छन् । गुरुयोजनाअनुसार अब उक्त मन्त्रालय पनि सिंहदरबारभित्रै ल्याइनेछ । स्वास्थ्यसँगै परराष्ट्र, गृह र सहरी विकास मन्त्रालयका नयाँ भवन बन्नेछन् ।
संघीय संसद् पनि सिंहदरबारभित्रै निर्माणाधीन छ । सर्वोच्च अदालत सिंहदरबार परिसरमै छ । सिंहदरबार सुरक्षा प्रहरी गण, नेपाली सेनाको चण्डीदल गण, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय अभिलेखालय, पुरातात्विक विभाग, रेडियो नेपाल, नेपाल टेलिभिजन,
राष्ट्रिय योजना आयोग, राष्ट्रिय पञ्जीकरण विभाग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभाग सिंहदरबारबाट हटाइनेछैन । अब बन्ने नयाँ भवनको बाहिरी स्वरूप सिंहदरबारको मौलिकता र स्वरूपसँग मिलाइनेछ ।
संसद् भवन जान प्रधानमन्त्रीका लागि छुट्टै सडक
प्रधानमन्त्री कार्यालयबाट सिंहदरबारभित्रै निर्माणाधीन संसद् भवन जान प्रधानमन्त्रीका लागि छुट्टै सडक बनाउने गुरुयोजनामा समेटिएको छ । उक्त सडकको प्रवेशद्वारमा ढोका राखिनेछ ।
प्रधानमन्त्री संसद् जाँदा र फर्किंदाबाहेक सडक बन्द हुनेछ । ‘अहिले प्रधानमन्त्रीज्यूका लागि भनेर यो योजना अगाडि सारिएको हो, पछि भिभिआइपीहरूले प्रयोग गर्ने सडक पनि हुन सक्छ,’ सूचना अधिकारी राजु न्यौपानेले भने ।
सिंहदरबार छिर्ने तीनवटै मूलढोकामा स्क्यानिङ, पर्खाल पारदर्शी
सिंहदरबारका तीनवटै मूलढोकाको स्तरोन्नति गरेर सुरक्षा जाँच प्रविधिमैत्री बनाउने सरकारको योजना छ । गुरुयोजनाअनुसार सबै ढोकामा मोटर गाडी एक्सरे (भेइकल स्क्यानर), वाक थ्रु डोर र मेटल डिटेक्टर राखिनेछ । त्यस्तै, सिंहदरबार घेरेको पर्खाल पनि पारदर्शी बनाइने न्यौपानेले बताए ।
बिजुली, टेलिफोन, इन्टरनेटका तार भूमिगत, अपांगमैत्री फुटपाथ
सिंहदरबार परिसरको क्षेत्रफल आठ सय ८१ रोपनी छ । संघीय संसद्, सर्वाेच्च अदालत, चण्डीदल गणलाई दिएको जग्गाबाहेक ५२५.८ रोपनी मात्र छ । हाल सिंहदरबारको कुल क्षेत्रको ३३ प्रतिशत भवनसहित कुनै न कुनै भौतिक संरचनाले ओगटेको छ ।
तर, अब आधा दर्जन कार्यालय र अस्थायी प्रकृतिका टहरा हटाएर ७५ प्रतिशत खुला क्षेत्र कायम गरिने भएको छ । खुला क्षेत्रमा पार्किङ, फुटपाथ, सडक, बगैँचा, वाटर फाउन्टेनलगायत रहनेछन् ।
बगैँचा विस्तार गर्ने योजना छ । सदस्यसचिव न्यौपानेका अनुसार ब्लक नै छुट्याएर पार्किङ बनाइनेछ । फुटपाथ अपांगमैत्री हुनेछन् । बिजुली, टेलिफोन, इन्टरनेटका तार भूमिगत गरिनेछ । त्यस्तै, खेर जाने पानी पुनः प्रयोगका लागि प्रशोधन केन्द्र बनाउने योजना छ ।