घर-घरमा स्मार्ट मिटर पुर्‍याउँदै विद्युत प्राधिकरण

काठमाडौं –

नेपाल विद्युत प्राधिकरणले ग्राहकको घर-घरमा स्मार्ट मिटर वितरण गर्ने योजना ल्याएको छ ।

परम्परागत मिटरलाई प्रतिस्थापन गर्दै प्राधिकरणले ल्याएको स्मार्ट मिटरले विद्युतीय ऊर्जाको खपत, भोल्टेज स्तर, करेन्ट, पावर फ्याक्टरलगायत विभिन्न सूचना रेकर्ड राख्ने जनाइएकाे छ ।

‘यसले स्वचालित रूपमा ग्राहकलाई विद्युत खपतको जानकारी दिन्छ,’ प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका

उप-कार्यकारी निर्देशक मनोज सिलवालले भने, ‘स्मार्ट मिटर प्रणालीमा ग्राहकसँग सम्बन्धित सम्पूर्ण विवरण तत्कालै (रियल टाइम) कार्यालयमा आउँछ ।’

स्मार्ट मिटर प्रणालीलाई प्रभावकारी बनाउन प्राधिकरणले सफ्टवेयर विकास गरी चाँडै नै मोबाइल एप ल्याउने तयारी गरिरहेको समेत उनले जनाए ।

‘यसपछि ग्राहकले बिलसम्बन्धी जानकारी मोबाइलमै प्राप्त गर्न सक्छन् । मिटर रिडिङ र भुक्तानीमा कुनै समस्या हुँदैन,’ उनले भने, ‘यसबाट विद्युत

चुहावट नियन्त्रण गर्न र ग्राहकको मिटर बिग्रिएमा तत्काल थाहा हुन्छ । ग्राहकलाई आवश्यक पर्ने विद्युतको मात्रा कार्यालयबाट नै निर्क्योल गर्न सकिन्छ ।’

उनले अगाडि भने, ‘ यसअघि ग्राहकले आफ्नो माग बढाउन पर्‍याे भने निवेदन दिनुपर्थ्यो, कार्यालय धाउनपर्थ्यो । तर अब यस्तो झन्झटको पनि अन्त्य हुुनेछ । त्यस्तै पैसा नतिर्ने ग्राहकको विद्युत पनि कार्यालयबाट नै काट्न सकिन्छ ।’

यो पनि : दाङको कणार्ली भनेर चिनिने बबई गाउँपालिकाको गंगटेमा पहिलो पटक बिजुली पुगेको छ । बबई गाउँपालिका सदरमुकाम हपुरेदेखि करिब २४ किलोमिटर टाढा पर्ने गंगटेमा नेपाल विद्युत प्राधिकरण तुलसीपुरको योजना अन्तरगत विद्युत पुर्याइएको हो ।

शनिबार विद्युतको शुभारम्भ गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बबई गाउँपालिका-१को वडा कार्यालयमा रहेको स्विच थिचेर विद्युत प्रशारणको शुभारम्भ गरेका हुन् । गाउँमा पहिलोपटक विद्युत पुगेपछि गंगटेका करिब १०० घरधुरी लाभाम्वित भएका छन ।

समन्वय समितिका प्रमुख नेपालीले गाउँको विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । अहिलेसम्म राजनैतिक परिवर्तनका लागि एक भयौँ, अब विकासका लागि एक हुन आवश्यक छ । उनले भने विकासका लागि सबै जना एक हौँ ।

बबई गाउँपालिकालाई नै उज्यालो बनाउने उद्देश्य अनुरुप गंगटेमा पनि विद्युत विस्तार गरिएका अध्यक्ष भुवनेश्वर पौडलले बताए । ‘उज्यालो बबई अभियान छ, गाउँपालिकाका विकट वस्तीमा विद्युत पुर्याइने योजना अनुरुप नै गंगटेमा पहिलोपटक विद्युत विस्तार गरिएको छ ।

उनले भने ‘यो अभियान ग्रामिण बस्तीमा विस्तार गर्दै लगिने छ । निर्वाचनको समयमा विद्युत विस्तार गर्ने प्रतिवद्धता पूरा गर्न पाएको उनले खुशी व्यक्त गरे ।

‘निर्वाचनमा गरेका सबै प्रतिवद्धता पूरा गर्न निकै कठिन रहेछ । उनले भने‘ तर गंगटेलाई उज्यालो बनाउन सफल भएका छौँ । भौगोलिक हिसाबले विकट बस्ती भएकाले सानो बजेटले गंगटेको विकास सम्भव नभएको उनले बताए ।

‘गाउँपालिकाको बजेट पनि सानो हुन्छ । उनले भने ‘सानो बजेट भएपनि स्थानीय सरकारसंग ठूला विकासे आयोजना छन, गंगटेमा विद्युत बाल्न सफल भएका छौँ ।

बिजुली पुगेपछि स्थानीयको जीवनस्तर सहज हुने विश्वास गरिएको छ। उनीहरुले मोबाईल चार्ज गर्न, बत्ति बाल्न, गाउँमा विद्युतिय मिल संचालन गर्न सहज हुने भएको बताए । ‘गाउँमा मोबाईल चार्ज गर्न निकै समस्या थियो, कतिपयले सोलारबाट चार्ज गर्थे तर हामीलाई त त्यो पनि थिएन ।

स्थानीय सीता पुनले भनिन् ‘गाउँमा विद्युत आएपछि त अब मोबाइल चार्ज गर्न समेत सहज हुने भएको छ । विद्युत नहुँदा बालबालिकालाई पढ्न समेत समस्या हुने गरेको थियो ।

गाउँमा विद्युत आएपछि बालबालिकाले रातको समयमा ढुक्कले पढ्न पाउने भएका छन् । ‘टुकीको भरमा पढ्न निकै मुस्कील छ । कमला सारू मगरले भनिन ‘ विद्युत आएपछि अब त बालबालिकालाई पढ्न पनि सजिलो हुने भएको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि शुरु भएको योजना करिब तीन वर्षपछि सम्पन्न भएको हो । पहिलो चरणमा वडा नम्बर १ गंगटेमा वडाका करिब ६०० घर परिवारमा विद्दुत विस्तार गरिने वडा अध्यक्ष खडकबहादुर कँवरले बताए ।

बिष्टचौर, भांगाबारी, पेरी, मदानी, सिस्ने, रिमखोली,ओदाले लगायतका गाउँमा विद्युत विस्तार गरिनेछ । उनले भने,’ बिस्तारै सबै ठाउँमा विस्तार गर्ने योजना बनाएका छौं । ‘

बबई गाउँपालिकाको ६७ लाख र विद्युत प्राधिकरणको २ करोड ५० लाखमा विद्युत विस्तार गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गंगटेको विकासमा सबै दलहरू जुट्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...