३५ हजारमा नागरिकता, कस्ले बनाए यसरी नागरिकता ?

सप्तरी –

सप्तरीको तत्कालीन गोइठी गाविस–१ मा नागरिकता टोली गएका बेला रुन्दी दासले २०६३ सालमा जन्मका आधारमा नागरिकता लिए । उनका छोरा रघुनन्दन एक महिनाअघि नागरिकता बनाउनकै लागि इलाका प्रशासन कार्यालय कञ्चनपुर पुगे ।

इलाका प्रशासनबाट जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई नागरिकता दिन रोक लगाएको जवाफ आएपछि उनी घर फर्किए ।

उनको भेट जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी जोगेन्द्र यादवसँग भयो । छिमेकी गाउँ बलियाका जोगेन्द्रले आफू जिल्ला प्रशासनको मु द्दा फाँटमा कार्यरत रहेको भन्दै ४० हजार रुपैयाँ दिए नेपाली नागरिकता दिलाइदिने आश्वासन दिए ।

३५ हजार रुपैयाँमा दुवै पक्षबीच कुरा मिल्यो । जोगेन्द्रको योजनामा रघुनन्दनले वडा कार्यालयबाट सिफारिस लिए । सिफारिस लिएर जिल्ला प्रशासन पुगेपछि जोगेन्द्रले नागरिकता फाँटका खरिदार सञ्जीव साहसित रघुनन्दनको भेट गराए ।

रघुनन्दन, खरिदार सञ्जीव र कार्यालय सहयोगी जोगेन्द्र मिलेपछि ३५ हजार रुपैयाँको लेनदेन भयो । रुन्दीको नागरिकताको किसिमको महलमा लेखिएको जन्मसिद्धको स्थानमा सेतो कागज टासेर फोटोकपी गराइयो ।

नागरिकताको अनुसूची फारामसँगै बुबाको केरमेट गरिएको नागरिकता पेस गरियो । आमालाई सनाखतमा बसाइयो । थप तीन जनालाई सनाखतमा दस्तखत गराएपछि गत मंसिर २१ गते कानुनी व्यवस्थाविपरीत रघुनन्दन दासलाई नेपाली नागरिकता दिइएको छ ।

नागरिकता लिइसकेपछि रघुनन्दनले श्रीमतीको पनि नागरिकता बनाउने प्रयास सुरु गरे । वडा कार्यालयमा सिफारिस लिन गएका बेला ३५ हजारमा नागरिकता लिएको बताएपछि उनले रकमको प्रलोभनमा नागरिकता लिएको विषय खुलेको हो ।

उनको नागरिकता जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोरकुमार रामले प्रमाणित गरेका छन् । १६–०१–७८–११२९० नम्बरको नागरिकता रघुनन्दनलाई दिइएको छ ।

जिल्ला प्रशासन कर्मचारी स्रोतका अनुसार कार्यालय सहयोगी जोगेन्द्र, खरिदार सञ्जीव, अन्य केही कर्मचारी र कार्यालयबाहिरका व्यक्ति मिलेर रकम लिँदै जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता दिइरहेका छन् ।

‘पछिल्लो २ महिनामा मात्र सयभन्दा बढी जन्मसिद्धका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता लिएका छन्,’ ती कर्मचारीले भने, ‘त्यसरी गैरकानुनी रूपमा

नागरिकता बनाउँदा ३५ देखि ५० हजार रुपैयाँसम्मको मोलमोलाइ हुने गरेको छ । बाँडफाँट गरेर माथिल्लो तहसम्म पुगेको हुन सक्छ । नपुगे तल्लो तहका कर्मचारीले हिम्मत गर्न सक्दैनन् ।’

कार्यालय सहयोगी जोगेन्द्र भने सम्पर्कविहीन छन् । नागरिकता फाँटका खरिदार सञ्जीव साह र प्रशासकीय अधिकृत किशोर रामले भूलवश त्रुटि भएको बताएका छन् ।

सप्तरीको तिरहुत गाउँपालिका–३ का वडाध्यक्ष भोगानन्द महात्मान यादवले नागरिकताको अनुसूची फाराम भरेर आउँदा सिफारिस दिएको प्रतिक्रिया दिए । नागरिकता दिन मिल्ने नमिल्ने विषय जिल्ला प्रशासनको भएको उनले बताए ।

गैरनेपालीलाई नेपाली नागरिकता बनाइदिने प्रशस्त उदाहरण रहेको जिल्ला प्रशासन सप्तरीबाट ३५ हजारमा नेपाली नागरिकता बनाइदिने यो पहिलो घटना होइन ।

यसअघि पनि कैयौं गैरनेपालीलाई सप्तरीबाट नागरिकता दिइएको खुलिसकेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रघुनन्दन दासलाई दिइएको नागरिकताबारे छानबिन गर्ने बताए ।

‘बुबाको नागरिकता जन्मका आधारमा भएर रघुनन्दनले लिएको भए नागरिकता खारेज हुन्छ,’ प्रजिअ गौतमले भने, ‘कर्मचारीको संलग्नताबारे पनि छानबिन हुन्छ ।’ कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...