काठमाडौं –
सरकारले एमसीसी सम्झौतालाई अनुमोदनका लागि संसदमा पेश गर्ने तयारी गरेका बेला माओवादी केन्द्रका प्रभावशाली नेता लिलामणि पोखरेलले माओवादीले कुनै पनि हालतमा एमसीसी संसदमा पेश गर्न नदिने बताएका छन्।
नेता पोखरेलले आफूहरुले एमसीसी संसदमा पेश हुन नदिने बताएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुको सम्झौता लागू गर्ने र सर्वदलीय बैठकको निर्णय मान्ने अभिव्यक्ति दिइरहेका बेला अध्यक्षसँग मत बाँझिने गरी पोखरेलको अभिव्यक्ति आएको हो।
‘अहिले एमसीसीलाई संसदमा पेश गर्ने तयारी भएको चर्चा सुनिएको छ, तर एमसीसीलाई हामी संसदमा पेश हुन दिँदैनौं,’ पोखरेलले भने,
‘एमालेले हामी बाहिरै बसेर सरकारलाई समर्थन गर्छौं, एमसीसी अगाडि बढाउ भनिरहको छ। तर हामी यो सम्झौता संसदमा पेश हुन दिँदैनौ। ’
पोखरेलले एमसीसी सम्झौता संशोधन नगरी पारित गर्न नहुने पार्टीको आधिकारिक धारणा रहेको जनाए। शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसीका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए।
उनले सर्वदलीय बैठकबाट आउने निष्कर्षका आधारमा आफ्नो पार्टीले धारणा बनाउने भन्दै एमसीसी पारित गर्ने संकेत गरेका थिए। तर माओवादी भित्र भने एमसीसी पारित गर्ने विषयमा मतभेद देखिएको हो।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी अघि बढाउन तत्कालीन सभामुख कृष्णबहादुर महराले रोकेका थिए। कतिपयले नेकपा विभाजनको बिउ एमसीसीले रोपेको समेत टिप्पणी गर्दै आएका छन्।
अहिले पनि सभामुख माओवादी केन्द्रको भएका कारण उनले एमसीसीलाई संसदको कार्यसूचीमा चढाउने हुन वा होइनन् भन्नेमा प्रचण्डको भूमिका महत्वपूर्ण हुन्छ।
यो पनि : संसद अ व रो ध हटाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक विना निश्कर्ष सकिएको छ ।
सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आइतबारको सर्वदलीय बैठकमा सबै राजनीतिक दलहरुले आआफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको छ ।
सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार उनी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा राखेका थिए ।
जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका नेता सुवालले बताए ।
सरकारका प्रवक्ता मन्त्री कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए ।
‘एमसीसीको बारेमा कसरी अगाडि बढाउने भन्ने बारेमा सबै दलले आआफ्नो विचार राख्नुभएको छ । कसैले आशंका व्यक्त गर्नुभएको छ । ती सबै कुरामा फेरि छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ’ उनले भने ।





















