काठमाडौ –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आठ महिना भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताएका छन् ।
मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० दिन भित्र क्यालिब्रेशन फ्लाईट गर्ने जानकारी समेत दिए। शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा संचालक संघ,
नेपालको २१ औं वार्षिक साधारण सभामा बोल्दै उनले व्यवसायीहरुको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि स्मरण गराए।
मन्त्री आलेले भने,‘हामी करिव ७ देखि ८ महिनाको बीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाईट गरेर छिट्टै संचालनमा ल्याउने तयारी गरिरहेका छौं।
त्यतिमात्रै नभएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मलाई लाग्छ, हप्ता, १० दिन भित्र क्यालिब्रेशन फ्लाईट गर्दैछौं। त्यसलाई पनि छिट्टै संचालनमा ल्याउँदैछौं।
आज यहाँ आएर भनिरहँदा यो जुन व्यवसायमा आदरणीय आवद्ध व्यक्तित्वहरु हुनुहुन्छ। हजारौंलाई रोजगार सृजना गर्नु भएको छ। यो राज्यले गर्न सक्नेभन्दा बढी योगदान यहाँहरुले दिनु भएको छ। यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु।’
मन्त्री आलेले हवाई उडानको क्षेत्रमा काम गर्ने व्यवसायीहरुले हजारौं नागरिकलाई रोजगारीको अवसर दिएर राज्यले भन्दा बढी काम गरेको भन्दै प्रशंसा पनि गरे।
कार्यक्रममा संघका पुनः निर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अग्रजहरुको योगदानकै कारण नेपालको हवाई उडानको क्षेत्रले प्रगति गर्न सम्भव भएको बताए।
उनले हप्ता दिनसम्म पनि हवाई उडान भर्नका लागि टिकट पाउने नसक्ने पीडाबाट मुक्ति दिलाउने सफलता आजको दिनमा मिलेको पनि बताए।
कार्यक्रममा हवाई उडानको क्षेत्रका योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो।
यो पनि : नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेसमा नयाँ पुस्ता उदयको प्रभाव एमालेमा पनि पर्ने बताएका छन् ।
गृहजिल्ला ताप्लेजुङमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले एमालेको नवौं महाधिवेशनको प्रभाव अहिले कांग्रेसमा परेको र कांग्रेसको प्रभाव पनि एमालेमा पर्ने बताए ।
कांग्रेस उपसभापतिमा निर्वाचित धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै भट्टराईले भने, ‘एमालेको नवौं महाधिवेशनमा हामी पनि यसरी नै निर्वाचित भएर आएका थियौं ।
कांग्रेसमा त्यसको प्रभाव परेको थियो । कांग्रेसको प्रभाव पनि एमालेमा पर्छ । एउटै धर्तीमा बसेर राजनीति गरिरहेकाले प्रभाव पर्नु स्वभाविक हो ।’
एमाले र कांग्रेस मुलुकलाई अप्ठेरो पर्दा मिलेर त्यसको सामना गर्ने र सहज परिस्थितिमा प्रतिष्पर्धा गर्ने दुई शक्ति भएको उनले बताए ।
यस्तै एमालेले संसद् अवरुद्ध नगरेको पनि उनको जिकिर थयो । सभामुखले चित्तबुझ्दो जवाफ नदिएसम्म यही अवस्थामा रहने नेता भट्टराईको भनाइ थियो ।
अहिले सभामुखले सञ्चारमाध्यम मार्फत् धम्क्याउन थालेको भन्दै उनले यसअघिका सभामुख हुँदा यस्ता समस्या नआउनु र अग्नि सापकोटा हुँदा आउनु सभामुखको असफलता भएको बताए ।
नेतृत्वदेखि कार्यकता तहसम्म माओवादीको ठूलो समूह एमालेमा भएकाले आगामी निर्वाचनमा एमालेलाई जित सहज रहेको उनको दाबी छ । पार्टीले अबको तीन महिना पार्टी प्रवेश अभियान चलाउने र त्यस अवधिमा एकीकृत समाजवादीमा गएकाहरूलाई फर्काउने उनले बताए ।
‘अरुलाई पनि भित्र्याउँछौं, विशेषगरी एकीकृत समाजवादीमा गएका साथीहरूलाई फर्काउँछौं’ उनले भने । सन् २०२१ एमालेका लागि सकसको वर्ष भए पनि आगामी पुस १५ पछि सुरु हुने सन् २०२२ को वर्ष एमालेका लागि पुनरोदय र पुनर्जागरणको वर्ष हुने भट्टराईले बताए ।





















