काठमाडौँ –
कांग्रेस नेता आरजू देउवाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको चाँडै रि सा उ ने बानी भए पनि बिर्सिहाल्ने बताएकी छिन् ।
१४औं महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको निर्वाचनमा मतदानमा जानुअघि पत्रकारसँगको कुराकानीमा आरजूले पति देउवाका राम्रा–नराम्रा बानीबारे चर्चा गरेकी हुन् ।
आरजूले भनिन्, ‘उहाँ एकदमै चाँडै रि सा उ नु हुन्छ । तर बिर्सिहाल्नु हुन्छ । पूर्वाग्रह राख्नुहुन्न ।’ गृहमन्त्री भइसकेपछि आफूले कुनै बेला देउवालाई
‘तपाईं जेलमा छँदा यातना दिने प्रहरी देख्दा कस्तो लाग्छ ?’ भनेर सोधेको स्मरण गर्दै उनले भनिन्, ‘त्यो उसको ड्युटी थियो । त्यो उसको बर्दीको कुरा थियो । मैले कसरी पूर्वाग्रह राख्न मिल्छ भन्नु भा’थ्यो ।’
विगतका तिता कुरा चाँडै बिर्सिने र क्षमा दिने बानी देउवामा भएको बताउँदै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाबीचको मित्रताको उदाहरण दिइहालिन् ।
‘कुनै बेला एकजनाले टाउकोको मूल्य राखेको ? अर्कोले झन्डै मारेको । कस्तो मा रा मा र थियो । तर आज दुवै जना बेस्ट फ्रेन्ड छन्,’ यति भनेपछि उनी सभागृहमा आफ्ना पतिलाई भोट हाल्न मतदान केन्द्रतर्फ लागिन् ।
आरजूले लन्डनमा अध्ययन गरेकाले देउवाको अंग्रेजी भाषा भने तुलनात्मक रुपमा राम्रो भएको बताइन् । त्यस्तै अध्ययन र भम्रणमा पनि देउवाको रुची रहेको उल्लेख गर्दै
आरजूले भनिन्, ‘उहाँ विशेषगरी दर्शनसम्बन्धी पुस्तक पढ्न रुचाउनुहुन्छ । अनि स्वास्थ्यसम्बन्धी पढ्न रुचाउनुहुन्छ । स्वास्थ्यसम्बन्धी सोध्यो भन्यो उहाँले सबै कुरा भन्नुहुन्छ । सानोमा उहाँलाई डक्टर पढ्न मन थियो क्यारे (हाँस्दै) तर राजनीतिमा आउनु भयो ।’
प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।
सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।
यस्तै नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न निर्वाचनमा शेखर कोइरालालाई भारी मतले पराजित गर्दै दोस्रोपटक सभापति निर्वाचित भएका हुन् । देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका हुन् ।
काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पहिलो चरणमा सभापतिका पाँच जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार निर्वाचन भएको थियो ।
उक्त निर्वाचनमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको प्रतिस्पर्धामा विजयी हुँदै देउवाले दोस्रो पटक निर्वाचित सभापतिको रुपमा चार वर्ष पार्टीको नेतृत्व गर्ने भएका हुन् ।
सोमबार सम्पन्न निर्वाचनमा देउवा, कोइराला सहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । देउवा र कोइरालाले बढी मत पाएपछि दुई जना दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
यसअघि दुईपटक सभापति पदमा पराजित भएका देउवा १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा पुगेका थिए । त्यसक्रममा पनि उनी दोस्रो चरणको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलो पटक सभापतिमा निर्वाचित भएका थिए ।
को हुन् देउवा ?
२००३ सालमा डडेलधुरामा जन्मिएका देउवा विद्यार्थी कालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए । नेपाल विद्यार्थी संघको (दोश्रो) महाधिवेशनबाट अध्यक्ष चयन भएका
देउवा २०४६ सालपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलनपछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुँदै आएका छन् । देउवा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रधामन्त्री बनेका थिए ।
२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । देउवा पाँचौं पटक देशको प्रधानमन्त्री बनेका छन् । पछिल्लो पटक उनी केपी शर्मा ओलीको बहिर्गमनपछि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका हुन् ।
गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए ।
२०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी फेरि नेपाली कांग्रेसमा एकीकृत भएको थियो ।
त्यसपछि देउवाले पार्टीमा आफ्नो प्रभाव बढाउँदै लगे । कोइराला परिवारको बोलावाला रहेको कांग्रेसमा उनी लगातार दुई पटक विजयी हुँदै सभापति निर्वाचित भएका छन् ।
देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् ।





















