काठमाडौं –
प्रहरी प्रधान कार्यालय नेपाल प्रहरीका कर्मचारीको मनोबल उच्च पार्न नयाँ कदम चालेको छ । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका कर्मचारीले अवकाश पाउँदा स्वतः एक तह बढुवाको व्यवस्थाका लागि हेडक्वाटर अग्रसर भएको हो।
हेडक्वाटरको कदमपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार अब कम्तिमा ८ वर्ष एउटै पदमा रहेर अवकाशमा पाउँदा उनीहरुले बढुवा पाउनेछन्। यो व्यवस्थामार्फत प्रहरी सहायक निरीक्षकमा बढुवा गर्दा प्रहरी हवल्दार र वरिष्ठ प्रहरी हवल्दार पदमा गरेको सेवा अवधि दुवै जोडिने प्रस्ताव छ।
प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी नायब निरीक्षक र वरिष्ठ प्रहरी नायब निरीक्षक पदमा गरेको सेवा अवधि पनि गणना हुने व्यवस्था छ। यसले प्रहरी कर्मचारीको मनोबल बढाउन मद्दत गर्ने भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले निर्णयार्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो।
तल्लो दर्जामा बढुवामा जाम लागेकाले मनोबल गिरेको भन्दै प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले तीन वटा दर्जा पनि थप गरेको छ।
थप गरिएका दर्जामा प्रहरी वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार छन्। यसअघि प्रहरी निरीक्षकसम्मका कर्मचारीले १२ वर्षसम्म जागिर अवधि पूरा गरे एक तह बढुवा गर्ने व्यवस्था थियो।
यो पनि : नेपाल प्ररहीमा एकैपटक १७ हजार पाँच सय ११ जना बढुवा हुने भएका छन् । प्रहरी नियमावली संशोधन भएसँगै एकैपटक १७ हजारभन्दा बढीको बढुवा हुन लागेको हो ।
प्रहरी प्रधान कार्यालयले थपिएका नयाँ पदमा बढुवाको गृहकार्य थालेका छ । ती पदमा पूर्णरुपमा ज्येष्ठताको आधारमा बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संशोधित नियमावलीअनुसार नायब निरीक्षक (सइ)को २५ प्रतिशत दरबन्दी वरिष्ठ नायब निरीक्षकमा रुपान्तरण हुनेछ । नेपाल प्रहरीमा सइको तीन हजार नौ सय २८ दरबन्दी छन् ।
जसअनुसार अहिले ज्येष्ठताक्रममा रहेका नौ सय ८२ जना वरिष्ठ सइमा रुपान्तरण हुने र ज्येष्ठ सइहरु त्यसमा बढुवा हुनेछन् । यसरी बढुवा गर्दा अहिलेकै उनीहरुको ग्रेड कायमै हुनेछ ।
नयाँ पदमा बढुवा गर्दा एउटै ब्याचका सबै जना पर्ने प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए । ‘वरिष्ठ सइमा बढुवा गर्दा अन्तिममा पर्ने व्यक्तिको ब्याचको धेरै व्यक्ति बढुवामा पर्ने भएकोमा ब्याचका सबै जना पर्छन्,’ ती अधिकारीले भने,‘यदी थोरै मात्र पर्ने अवस्था आयो त्यो ब्याचबाट कसैको बढुवा हुँदैन ।’
सहायक हवल्दार र वरिष्ठ हवल्दारमा पनि यही नियम लागू हुनेछ । हवल्दार र वरिष्ठ हवल्दारको हकमा भने ३० प्रतिशत दरबन्दीलाई माथिल्लो पदमा कायम गरिएको छ ।
जवानको हाल ४० हजार ५ सय ८२ दरबन्दी छ । जसअनुसार १२ हजार एक सय ७४ प्रहरीको सहायक हवल्दारमा बढुवा हुनेछन् ।
त्यस्तै, चार हजार तीन सय ५५ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा हुनेछन् । हाल हवल्दारको दरबन्दी १४ हजार पाँच सय १७ छ । यसका लागि यस अघि नै प्रहरी प्रधान कार्यालयले दरबन्दी पुनसंरचना गरिसकेको छ ।
नियमावली संशोधन भएपछि जसअनुसार एकै पटक नेपाल प्रहरीमा एक पटक १७ हजार पाँच सय ११ जना बढुवा हुने भएका छन् । नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वायन हुनेछ ।
एउटै पदमा १७/१८ वर्षसम्म रहनुपर्ने अवस्थाले तल्लो तहका प्रहरीमा नैराश्यता बढाएको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयको प्रस्तावमा सरकारले केही नयाँ दरबन्दी थपेको थियो ।
त्यसले तल्लो तहको बढुवामा वर्षौ कुुर्नुपर्ने समस्या केही हदसम्म हल गर्ने प्रहरी अधिकारीहरु बताउँछन् । यसले प्रहरीको तल्लो तहमा उत्साह देखिएको छ ।
वानको हाल ४० हजार पाँच सय ८२ दरबन्दी छ । जसअनुसार १२ हजार एक सय ७४ प्रहरी सहायक हवल्दारमा बढुवा हुनेछन् ।
त्यस्तै, चार हजार तीन सय ५५ हवल्दार वरिष्ठ हवल्दारमा बढुवा हुनेछन् । हाल हवल्दारको दरबन्दी १४ हजार पाँच सय १७ छ । यसका लागि यसअघि नै प्रहरी प्रधान कार्यालयले दरबन्दी पुनर्संरचना गरिसकेको छ ।
त्यस्तै, नियमावलीमा एउटै पदमा आठ वर्षसम्म रहेर अनिवार्य अवकाश पाएमा एसपीसम्मका प्रहरीले एक तह बढुवा पाउने प्रावधान थप गरिएको छ । त्यस्तै, प्रहरी परिचरको ग्रेड सिष्टम लागू गरिएको छ भने प्रहरी बढुवामा विभूषणको नम्बर पनि हटाइएको छ ।





















