काठमाडौं –
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नै बुहारी मोनिका भट्टराईलाई समाज कल्याण परिषद्मा उपाध्यक्ष नियुक्त गरेपछि आलोचना सुरु भएको छ ।
साता अघि कांग्रेस निकट लोकतान्त्रिक गैरसरकारी संस्थाहरूको महासंघले मन्त्री रेग्मीलाई भेटेर आफ्नै बुहारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्नु अशोभनीय र स्वार्थपूर्ण काम भएको भन्दै ज्ञापनपत्र नै बुझाएको थियो ।
मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘सुशासन ऐनको दफा ६, ८ र १८ ले सार्वजनिक उत्तरदायित्व वहन गर्नुपर्ने व्यक्तिले परिवारका सदस्यलाई सार्वजनिक पदमा नियुक्त गर्ने कुरालाई सार्वजनिक उत्तरदायित्व पूरा गरेको मानिँदैन ।’
महासंघले बुझाएको ज्ञापनपत्रमा नियुक्ति अशोभनीय, सुशासन ऐनको भावना तथा सर्तविपरीत र लोकतान्त्रिक पद्धति प्रतिकूल रहेको उल्लेख छ ।
महासंघका महासचिव मनोजकुमार कँडेलले मन्त्रीले व्यक्तिगत स्वार्थमा परेर बुहारीलाई नियुक्ति गरेकाले विरोध जनाएको बताए । उनले भने, ‘निर्णय सच्याउन भनेका छौं । यस्तो नियुक्ति फिर्ता नगरे हामीले देशव्यापी विरोध कार्यक्रम गर्ने कुरा विज्ञप्तिमार्फत बताएका छौं ।’
गैरसरकारी संस्थाहरूको काम–कारबाही नियमन र सुपरिवेक्षण गर्न भन्दै गठन भएको समाज कल्याण परिषद् मन्त्री फेरिएपिच्छे राजनीतिक नियुक्तिले गर्दा अस्तव्यस्त बनेको छ ।
आर्थिक वर्ष २०७७/७८ मात्रै परिषद्ले ३ सय ३४ गैरसरकारी संस्थाको परियोजनालाई द्रुत स्वीकृति दिएको थियो ।
परिषद्को वार्षिक प्रतिवेदनअनुसार ६ सय ९९ गैरसरकारी संस्थाले सुरु गरेका १ हजार १ सय १० परियोजनाले १४ अर्ब ६२ करोड ६२ रुपैयाँ बराबरको परियोजना सञ्चालन गर्छन् ।
बिहेपछि अमेरिकामा बस्दै आएका रेग्मीका छोरा र बुहारी केही समयअघि मात्रै नेपाल बस्ने गरी फर्केका थिए । कुराकानीमा मन्त्री रेग्मीले भने आफूले नभई गठबन्धन सरकारको मन्त्रिपरिषद्ले नियुक्त गरेको बताइन् ।
उनले क्षमतावान बुहारीको नियुक्तिलाई लिएर विरोध गर्नुको कुनै तुक नभएको बताइन् । आफूले समाज कल्याण परिषद्मा व्यापक सुधारका काम सुरु गरेपछि विरोधीले यस्तो कुरा उचालेको दाबी उनले गरिन् ।
साथै उनले परिषद्बाट काम नै नहुने भएपछि परियोजना स्वीकृतिका लागि विभिन्न देशका राजदूत मन्त्रालय धाउनुपर्ने अवस्था आएको बताइन् ।
अरू कैयनले परिवारकै मान्छे मन्त्रालयमा पीए र लाभका पदमा राखे पनि आफूले त्यसो नगरेको बरु सेरोमोनियल खालको पदमा राखेको दाबी गर्दै उनले थपिन्, ‘मेरो बुहारी भएकै कारण काम गर्नै नदिने त ? अरूको त परिवारकै मान्छे पीए बनेर हिँड्छन् । मेरो त त्यो पनि छैन ।’ कान्तिपुरबाट