काठमाडौँ –
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण गर्छन् । मूल्यवृद्धिको कुनै भौगोलिक सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई राहत दिने कार्यक्रम लागू गर्छन् ।
भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ । सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ ।
भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो । बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ ।
दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ । बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस वर्ष शुरूदेखि नै पेट्रोलको मूल्य लगातार बढि रहँदा सर्वसाधारण मर्कामा परेपछि दिल्ली सरकारले राहतका लागि भ्याट छुटको निर्णय गरेको छ ।
यो पनि पढनुहोस : भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ ।
निगमलाई आएको पछिल्लो सूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको छ ।
डिसेम्बर १ (बुधबार) पठाइएको नयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढेको निगमले जनाएको छ ।
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेपछि पेट्रोल/डिजेलमा सामान्य घटेको छ । तर, ग्यासको मूल्य झन् बढेर आएको छ,’ निगमका एक अधिकारीले भने, ‘समग्रमा हेर्दा १५ दिनको नोक्सानी करिब २ अर्ब रुपैयाँ छ ।
नोक्सानीको अवस्था रहेकाले तत्काल मूल्य घटाउन नसकिने ती अधिकारीले बताए । उनका अनुसार आइओसीले पठाएको नयाँ मूल्य अनुसार पनि निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १०.३५ रुपैयाँ, डिजेलमा ७.४४ रुपैयाँ घाटा छ ।
त्यस्तै एलपी ग्यासमा प्रतिसिलिन्डर ७ सय ५८.२५ रुपैयाँ नोक्सानी छ । विक्रीबितरणको आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।
यस्तै, ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ । तर, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा छ । ‘ती सबै जोड्दा १५ दिनको नोक्सानी १ अर्ब ९७ करोड ६७ लाख देखिन्छ,’ ती अधिकारीले भने ।
कच्चा तेलसँगै डलरको मूल्यले नेपालको मूल्यमा असर पर्दछ । असर पार्ने अर्को कारण भने भन्सार दर हो । इन्धनमा लाग्ने उच्च भन्सार दरले पनि इन्धनको मूल्य उच्च छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारतले कर घटाएर सर्वसाधरणलाई राहत दिएको थियो । तर, नेपालमा कर घटाइएको छैन ।
हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ ।






















