काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय योग गुरु बाबा रामदेवलाई आज (आइतबार) सरकारले सम्मान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आज बिहान निःशुल्क योग शिविरपछि रामदेवलाई सम्मान गरिएको हो ।
मन्त्रालयका अनुसार मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई मन्त्रालयका तर्फबाट सम्मान गरेका हुन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका भारतीय योगगुरु रामदेवको पहलमा सुरु भएका दुई टीभी च्यानलले नेपाल सरकारबाट प्रसारणका लागि इजाजतपत्र नै नपाएको खुलेको छ ।
तर पतञ्जली नेपालले सञ्चालनमा ल्याएका दुई टीभी च्यानल—आस्था नेपाल र पतञ्जली नेपालको प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै गएर विदेशी लगानीका स्याटेलाइट टेलिभिजन गरेका थिए।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी व र्जि त गरेको छ । राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका २०६० ले रेडियो र टेलिभिजन सञ्चार माध्यम सूचना तथा प्रसारण विभागमा दर्ता भएर मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।
तर पतञ्जलिका टेलिभिजन विभागमा दर्ता छैनन् । ‘दर्ताका लागि आवेदन नै आएको छैन,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । नेपालमा टेलिभिजन प्रसारणका लागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले इजाजत दिने गर्छ ।
विभाग स्रोतका अनुसार पतञ्जलीले टीभी च्यानल प्रसारणका लागि इजाजतपत्र लिएको छैन। विभागका एक उच्च अधिकारीले यी दुई टीभी च्यानलले प्रसारणका लागि स्वीकृति नपाएको बताए।
पतञ्जलिले टेलिभिजन सञ्चालनको इजाजत नलिएको देखिएकाले बिनाअनुमति सञ्चालन गरेका विषयमा अध्ययन गर्नेसमेत उनले बताए । ‘हामी ती टेलिभिजन च्यानलले प्रसारण सुरु गरे/नगरेकोबारे अध्ययन गर्न समिति गठन गर्छौं । प्रसारण सुरु गरिसकेको भए कानुनबमोजिम का र बा ही हुन्छ,’ हमालले भने ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायको सूचीमा ‘आमसञ्चारमाध्यमहरू (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) को व्यवसाय तथा राष्ट्रभाषाको चलचित्र व्यवसाय’ लाई राखेको छ ।
अनुमति लिन संस्था दर्ताको आधिकारिक प्रमाणपत्र, स्पष्ट उद्देश्य खुल्ने संस्थाको विधान, उक्त टेलिभिजनमा प्रयोग हुने उपकरण तथा जिओकोर्डिनेटेड टोपोग्राफिक नक्सालगायत चाहिन्छ ।
सम्बन्धित घरधनीको जग्गाधनी लालपुर्जा र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपिलगायत विवरण पनि सूचना तथा प्रसारण विभागमा बुझाउनुपर्छ । इजाजत अनुमतिपत्र लिन आउँदा संस्थाका सञ्चालकहरूको चारित्रिक अवस्था र चालचलन बुझी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रसमेत विभागले हेर्ने गरेको छ ।
पतञ्जलिका गैरकानुनी टेलिभिजन उद्घाटनमा प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत पुगेका थिए । आध्यात्मिक र आयुर्वेदसँग सम्बन्धित कार्यक्रम उत्पादन गर्ने भनिएका ती टेलिभिजन व्यावसायिक उद्देश्यले आएको जनाइएको छ ।
उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बाचासमेत गरेका छन् । विशेष आर्थिक क्षेत्र (सेज) का एक उच्च अधिकारीका अनुसार सरकारले कुनै उद्योग–व्यवसायलाई जग्गा उपलब्ध गराउन मुख्यगरी तीन बाटा हुन्छन्– सेजको जग्गा उपलब्ध गराउने, औद्योगिक क्षेत्रको जग्गा दिने र बाहिरको जग्गा भए मन्त्रिपरिषद्को निर्णयबाट दिने ।
तर पतञ्जलिलाई उद्योग सञ्चालनकै लागि जग्गा दिने भनेर कुनै पनि मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका छैनन् । ‘पतञ्जलीले टीभी च्यानल सञ्चालनका लागि अनुमति मागेर आवेदन पनि दिएको छैन । यसरी इजाजत नलिई टेलिभिजन सञ्चालन गर्नु गैह्रकानुनी हो,’ विभागका ती अधिकारीले भने।
तर, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह यी दुई टीभी च्यानलले सरकारबाट अनुमति सञ्चालन पाइसकेको दाबी गर्छन्। ‘पतञ्जली नेपाल र आस्था नेपाल दुवै टीभी स्याटलाइट प्रविधिका हुन्। हामीले प्रसारणका लागि सरकारबाट स्वीकृति पनि पाइसकेका छौँ,’ सिंहले भने।
उनले आस्था च्यानलले चाहिँ भारतीय आस्था च्यानलकै सामग्री प्रसारण गर्ने बताए। सिंहका अनुसार यी टीभीले योगसाधना, योगाभ्यास र धार्मिक गतिविधिबारे सामग्री प्रसारण गर्नेछन्।
‘यी दुवै टीभी च्यानल कुनै व्यावसायिक स्वार्थले सञ्चालनमा आएका होइनन्,’ उनले भने। पतञ्जलीका नेपाल प्रमुख सिंहले दुई टीभीको लगानीबारे टिप्पणी गर्न चाहेनन्।
बिहान ९ बजे सुरु भएको कार्यक्रममा सरकारका मन्त्रीहरु बालकृष्ण खाण र पर्यटनमन्त्री प्रेम आले पनि सहभागी भए। नेताहरु पतञ्जलीका योगगुरु रामदेव तथा अर्का अभियन्ता आचार्य बालकृष्णको निम्तो स्वीकार्दै त्यहाँ भेला भएका थिए। भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सोही मञ्चमा थिए। नेताहरु रामदेव र आचार्य बालकृष्णसँग कुम जोडेर रमाइरहेको देख्न सकिन्थ्यो।
कार्यक्रमको उद्घाटनमा भारतीय यातायातमन्त्री नितीन गडकरी आउने तय भए पनि अन्तिम समयमा आएनन्। उनले भिडियो कन्फ्रेन्सबाटै पतञ्जलीलाई शुभकामना दिए। कार्यक्रम देख्दा यस्तो लाग्थ्यो– नेपालको कुनै राष्ट्रियस्तरको टीभी उद्घाटन भइरहेछ।
तर सबै नेताको रामदेवसँगको व्यक्तिगत सम्पर्कका कारण उनीहरु त्यहाँ पुगेका हुन्। रामदेव आफैँले माओवादी केन्द्रका अध्यक्षलाई बिहीबारै भेटेर कार्यक्रममा जसरी पनि आइदिन आग्रह गरेका थिए। नेताहरुले रामदेवको आग्रह नकार्न सकेनन्।
एमालेका अध्यक्ष केपी ओली चाहिँ कार्यक्रममा गएनन्। निम्ता पाए पनि ओलीले आफू अस्वस्थ रहेको बताएका थिए। तामझाम सहित उद्घाटन गरिएका यी टीभी च्यानल कुन उद्देश्यले ल्याइए भन्ने खुलेको छैन।
कार्यक्रममा सहभागी हुन पुगेका एभीन्युज टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकारले पतञ्जलीका दुई टीभी च्यानलका प्रकृतिबारे जानकारी नरहेको बताए।
‘मलाई टीभी उद्घाटन भनेर बोलाइएको थिएन। पतञ्जलीबाट एउटा भवन उद्घाटन गर्ने भनिएको थियो। त्यहाँ पुग्दा थाहा भयो टीभी च्यानल पनि उद्घाटनको कार्यक्रम रहेछ,’ राजकर्णिकारले भने। टीभी च्यानलबारे कार्यक्रममा खासै जानकारी नदिइएको उनले बताए।
भारतीय लगानीका यी दुई टीभी कस्ता हुन् ?
भारतको लगानीमा आस्था नेपाल र पतञ्जली नेपाल नामका दुई टेलिभिजन च्यानल सञ्चालनमा आएका हुन् । आचार्य बालकृष्ण र रामदेवको लगानी रहेको भारतको हरिद्वारस्थित पतञ्जली आयुर्वेदले नेपालमा टीभी ल्याएको हो। आचार्य बालकृष्ण पतञ्जलीका अध्यक्ष हुन्।
मण्डिखाटारस्थित पतञ्जली नेपालको आश्रममा नै यी दुई टीभीका कार्यालय स्थापना गरिएका छन्। यी दुई टीभीमा कति लगानी छ भन्ने स्पष्ट खुलेको छैन।
भारतीय मिडियाले भारतीय कम्पनीले नेपालमा आस्था नेपाल र पतञ्जली टीभी ल्याउन लागेको समाचार दिएका छन्। त्यहाँको दि इन्डियन एक्सप्रेस दैनिकले यी दुई च्यानल सञ्चालनमा दस हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने समाचारमा जनाएको छ।
पतञ्जलीले भारतमा आयुर्वेदिक सामान, मह, सर्फ, दन्तमञ्जन, आटा, साबुन, घिऊ लगायत अनगिन्ती दैनिक उपभोग्य सामान बिक्री गर्छ। पतञ्जलीलाई भारतीय जनता पार्टीको प्रत्यक्ष र परोक्ष सहयोग रहेको मानिन्छ। भारतीय जनता पार्टीका केन्द्रीय मन्त्री पतञ्जलीका कार्यक्रममा सहभागी भइरहेका हुन्छन्।
योग र धर्मको आवरणमा पतञ्जलीले व्यापार र राजनीति गर्दै आएको छ। भारतमा योग शिविर सञ्चालन गर्ने पतञ्जलीले आयुर्वेदिक वस्तुको उत्पादन गरेर बेच्ने गरेको छ।
पतञ्जलीले को रो ना म हा मा रीका बेला को रो ना निको पार्ने भन्दै ल्याएको ‘कोरोनिल’ आयुर्वेदिक औषधि भारतमै वि वा दि त बनेको थियो। जनस्तरबाट वि रो ध भएपछि भारत सरकारले कोरोनिल औषधि बिक्रीवितरणमा रोक लगाएको थियो। नेपालमा पनि कोरोनिलको व्यापार गर्ने प्रयास पतञ्जलीले गरेको थियो। तर उनीहरुको प्रयास सफल भएको थिएन।
पतञ्जलीले नेपालमा पनि योग शिविर सञ्चालन गर्ने गरेको छ। बारम्बार नेपाल आइरहने रामदेव र आचार्य बालकृष्णले काठमाडौँको टुँडिखेल लगायत स्थानमा योग शिविर चलाउने गरेका छन्।
पतञ्जलीले नेपालमा पनि दैनिक उपभोग्य सामग्रीको व्यापार गर्ने गर्छ। नेपालमा अहिले दुई च्यानल सञ्चालनमा ल्याएर पतञ्जलीले आफ्नो व्यापार प्रबद्र्धन गर्न खोजेको देखिन्छ। तर पतञ्जली नेपालका पदाधिकारी यो स्वीकार्न तयार छैनन्।





















