काठमाडौँ –
सर्वसाधरणलाई दैनिक १८ घन्टा लामो लोडसेडिङबाट मुक्ति दिलाउने कुशल व्यवस्थापकको जस पाएका कुलमान घिसिङ शुक्रबार साँझ काठमाडौंको उज्यालो हेर्न चन्द्रागिरि पुगेका थिए ।
नेपाल विद्युत् प्राधिकरणको संचालक समितिका तीन सदस्य सहित चन्द्रागिरि पुगेका प्रबन्ध निर्देशक कुलमानको ‘तिहारमा काठमाडौं कस्तो देखिने रहेछ ?’ भनी अवलोकन गर्ने योजना रहेछ ।
चिसो स्याँठ चलिरहेको औंसीको रातमा कुलमान गुपचुप २५ सय मिटर उचाईको चन्द्रागिरिबाट डाँडाभन्दा ११ सय मिटर मुनिको (१४ सय मिचर उचाईमा फैलिएको) काठमाडौं उपत्यकाको उज्यालो नियालिरहेका थिए ।
चन्द्रागिरिबाट काठमाडौं, भक्तपुर र ललितपुरको झिलिमिलि देखिन्थ्यो । तर, सडक देखिएन । डाँडाबाट भक्तपुर–सूर्यविनायक सडक, नैकाप–कलंकी सडक, काठमाडौं विमानस्थल र स्वयम्भू–वनस्थली सडकमात्रै प्रस्ट देखिरहेको थियो । त्यो पनि सडकमा गुडिरहेका गाडीको उज्यालोले ।
‘स्ट्रिट–लाइट नभएकाले सडकहरु देखिएनन्,’ कुलमानले सहर अवलोकन गर्दै भने । उज्यालोकै कारण धरहरा देखियो । उनलाई उज्यालो काठमाडौंको फोटो खिच्ने रहर थियो । तर, मोबाइलको ब्याट्री सकिएकाले उनले अन्य सहयात्रीको मोबाइलबाट ‘पछि फोटो पठाइदिने सर्तमा’ फोटो खिचे– खिचाए ।
०७३ को लक्ष्मी पूजाको दिन विद्युत् प्राधिकरणले ‘अब लोडसेडिङ हुँदैन’ भनेर घोषणा गरेयता देश लोडसेडिङ मुक्त भयो । यसबीच उनी आफ्नो पहिलो कार्यकालमा दुईपटक काठमाडौंको उज्यालो हेर्न उपत्यकाका दुईटा अग्ला डाँडा उक्लिएका रहेछन् ।
‘एक पटक स्वयम्भूपारीको डाँडाबाट तिहारको उज्यालो हेरेको छु,’ उनले भने, ‘परार यही डाँडाबाट हेरेको थिएँ ।’ साउनमा प्राधिकरणमा दोस्रोपटक प्रबन्ध निर्देशक भई आएका कुलमानको यो यात्रा यसपटक पहिलो थियो ।
अहिले नेपालमा दिउँसो २ सय र राति ४ सय मेगावाट हाराहारी विद्युत् खेर गइरहेको छ । कागतिहारको दिन नेपालले भारतसँग उर्जा व्यापार सुरु गरेकोको तेस्रो दिन कुलमानले ६ वर्षको काठमाडौं चन्द्रागिरि डाँडाबाट सम्झिँदै भने, ‘लोडसेडिङका बेला एक भाग अँध्यारो हुन्थ्यो । अर्को भाग उज्यालो हुन्थ्यो ।’
उनले यति भनेपछि चन्द्रागिरि रिसोर्टको आगनमा रमाइरहेका स–साना केटाकेटीसँग भेट भयो । केटाकेटीहरुले कुलमानलाई नमस्ते अभिवादन गरे ।
उनीसँगै आएका एक जना सञ्चालक समितिका सदस्यले केटाकेटीहरुलाई प्रश्न गरे, ‘तिमीहरुले कुलमान सरलाई चिनेका छौं ?’ ६–७ वर्ष हाराहारीका केटाकेटीले ‘चिन्दैनौं’ भनेपछि हाँसो गुन्जियो ।
भीडबाट कसैले भने, ‘यीनीहरु जन्मिँदा नेपालमा लोडसेडिङ नै हटिसकेको थियो । कसरी चिन्नु कुलमान सरलाई ।’
फेरि सबै जना हाँसे । तिहारको बेला रिसोर्टमा बास बस्न पुगेका आन्तरिक पर्यटकहरुको भीडमा कुलमान घिसिङ फोटो सेसन गर्न थाले । यो क्रम चलिरह्यो ।
धेरैले लोडसेडिङ मुक्त गरेका कुलमानलाई आदरका साथ तिहारको शुभकामना र उज्यालो बनाउने अभियान्तका रुपमा सम्मान प्रकट गरिरहे । कान्तिपुरबाट सभार
यो पनि पढनुहोस : यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो ।
प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।
विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शुन्यमा झरेको छ ।
यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।
चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य,कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।
यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ति बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो ।
प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरो’ध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।





















