काठमाडौं –
अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् ।
गत नोभेम्बर २ मा कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)मा भएको निर्वाचनमा उनी नगर सदस्यमा निर्वाचित भएका हुन् । उनलाई उक्त नगरपालिकाको नगर सदस्यमा गत सेप्टेम्बर २४ ,२०२० मा नियुक्त समेत गरिएको थियो ।
नगरपालिकाको एक सदस्य पद रिक्त भएपछि श्रेष्ठलाई उनले गरेका क्रियाकलाप, गतिबिधि र योगदानको कदर तथा मुल्यांकन गर्दै उनलाई उक्त पदमा ल्याइएको थियो ।
उनलाई विजयी गराउन नेपाली समूदायले ठूलो भूमिका निर्वाह गरेका थिए । उनलाई अधिकांशले मत दिएका थिए ।
अमेरिकाका अन्य शहरमा नगरपालिका तथा महानगरपालिकामा काउन्सिल मेम्बर (नगर परिषद सदस्य) भन्ने चलन छ भने कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिङ) भनिन्छ ।
अमेरिकाको केही राज्य निर्वाचनपछि रिपब्लिकन मय भएको अवस्था र कनेक्टिकट राज्य पनि रिपब्लिकनहरुको गढ भएको राज्यमा पनि श्रेष्ठले बाजी मारेका हुन् ।
नेपाल सिन्धुपाल्चोक चौतारा घर भई हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २२ बर्ष देखि उक्त शहरमा चमेना गृहको व्यवसायमा संलग्न छन् ।
२५ बर्ष अगाडि अमेरिका आएका श्रेष्ठ सन् २०१२ मा कनेक्टिकट मै स्थापित नेपाली समुदायको नेपाली समाज अमेरिका (सोसाइटी अफ नेपलिज इन अमेरिका) का दोश्रो कार्यकालका लागि समेत निर्विरोध निर्वाचित अध्यक्ष हुन् ।
यसअघि अमेरिकामा नगरपालिकाको निर्वाचनमा उपप्रमुखमा किरण सिटौला निर्वाचित भएका थिए । उनले मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक नगरपालिकाको उपप्रमुखमा खाता खोलेका थिए ।
उनी श्री कार्यकालको लागि समेत निर्वाचित भएका छन् । यसरी मुलधारमा प्रवेश गर्नेहरुमा सिटौलापछि क्रमशः मेरिल्याण्ड राज्यको विधानसभा सदस्यमा एचबी ह्यारी भण्डारी, भर्जिनिया हे मार्केटका लागि नगर परिषद् सदस्यमा मधु पन्थी निर्वाचित भएको हो ।
यस्तै भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद् सदस्य प्रदिप ढकाल ,टेक्सस ड्यालसका नगर परिषद सदस्य नेत्र पाण्डे र राम चन्द्र श्रेष्ठ छैटोँ निर्वाचित नगर परिषद् सदस्य भएका छन् ।