काभ्रे – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काभ्रेको खानीखोला गाउँपालिकालाई राष्ट्रपति महिला उत्थान कार्यक्रममा समावेश गरेको छ ।
मन्त्री सुडीले केहि दिन अघि अध्यक्षज्यू आफैँले गर्भवती महिलालाई काँधमा बोकेर अस्पताल ल्याएको दृश्य देखेसँगै आफु भावुक भएको सुनाउदै राष्ट्रपति महिला उत्थान कार्यक्रममा गाउँपालिकालाई समावेश गरेको बताए ।
यो जीवनरक्षाकारी कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धि कार्यविधि–२०७७ अनुसार सञ्चालन गरिरहेको थियो । यो लागु भएसँगै दुर्गम क्षेत्रमा मातृमृत्युदर घटाउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ ।
सरकारले राष्ट्रपति महिला उ्रत्थान कार्यक्रम अन्तर्गत सुदुर तथा पहाडी क्षेत्रमा रहेका जोखिमपुर्ण अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निशुल्क हवाई उद्धार सेवा उपलब्ध गराउदै आएको छ ।
राष्ट्रपति महिला उ्रत्थान कार्यक्रममा खानीखोला गाउँपालिका सुचिकृत भएपछि खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) ले यस कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै समाजिक सञ्जालमा लेखेका छन् ।
आदरणीय खानीखोलाबासी जनसमुदाय
‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ कार्यक्रममा खानीखोला गाउँपालिकालाई समावेश गर्न पाएको खुसी बाँड्न पाउँदा हर्षित छु । निरन्तरको प्रयास, दबाब र ताकेतापछि खानीखोला गाउँपालिका यस कार्यक्रममा समावेश भएको छ । गाउँपालिकामा हामी निर्वाचित भएदेखि भएदेखि नै हामीले यस कार्यक्रममा हाम्रो गाउँपालिकालाई समावेश गराउनका लागि निरन्तर पहल गरिरहेका थियौँ । हाम्रो गाउँपालिकालाई यस कार्यक्रममा समावेश गराउनका लागि निरन्तरको पहलकदमीमा सघाउनुहुने माननीय संघीय सांसद सुर्यमान दोङज्यू, महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेत, माननीय मन्त्री नवल किशोर साह सुडी लगायत सबै सरोकारवालाहरुमा खानीखोला गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।




















