काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि अब सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुने बताएका छन् ।
नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार पहिलो भाग नेपाल आइपुगेको हो । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए ।
डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा मन्त्री पौडेलले औषधि अभावमा विदेश गएर महङ्गो खर्च गनुपर्ने बिरामीको बाध्यता हटाउन लामो मेहनतपछि सफलता प्राप्त भएको मन्त्री पौडेलको जानकारी दिएको छ ।
डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधि नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग स्वरूप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे ।
ती औषधि तथा स्वास्थ्य सामाग्रीहरू असार २७ गते नेपाल आइपुगेका थिए भने त्यसयता स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा भण्डारण गरेर राखिएको थियो।
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइनेछ ।



















