काभ्रे – तेमाल गाउँपालिकाको १७ औं गाउँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा मंगलबार पालिका कार्यालयको सभाहल पोखरी नारायणस्थानमा सम्पन्न भएको छ ।
गाउँसभामा अध्यक्ष तामाङले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष दलमान थोकरले प्रस्तुत गरेको बजेट तथा योजना सर्वसम्मत रुपमा पारित गरेको छ ।
अध्यक्ष तामाङले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “सुशासन सहितको विकास आजको आवश्यकता गुणस्तरयुक्त पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता” भन्ने मूल नारालाई आत्मसात गर्दै यसै सोचमा केन्द्रित भई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको बताउनु भएको छ ।
सो अवसरमा सुन्दर एवं व्यवस्थित सडक, प्रविधिमैत्री, हराभरा तेमाल निर्माण गर्ने यस नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउँदै उनले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गर्ने शैक्षिक लक्ष्य लिइएको बताउनु भएको छ ।
अध्यक्ष तामाङले ९ वटै वडामा स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी गाउँवासीको स्वास्थ्य सेवा पहुँच अभिवृद्धिमा रुपान्तरण गर्ने लक्ष्य लिइएको र गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुप्रतिको जनविश्वास र सेवाग्राहीको संख्या शतप्रतिशतले वृद्धि हुने लक्ष्य रहेको सभा समक्ष प्रस्तुत गर्नु भएको हो ।
‘गाउँपालिकाको रणनितिक सडकहरु ग्रावेल सडकमा रुपान्तरण भएका हुनेछन, गाउँपालिकाको ब्याक हो लोडर मेसिनलाई प्रभावकारी रुपमा सञ्चालन गरी सम्पूर्ण सडकहरुलाई खाल्डाखुल्डी रहित बनाउने र प्रस्तुत नीतिहरु तेमाल गाउँपालिका र सम्पूर्ण गाउँवासीहरुको हितका लागि उपयोग गरिने लक्ष्य रहेको अध्यक्ष तामाङले भन्नु भयो ।
यस्तो छ अध्यक्षद्धारा सभामा प्रस्तुत नीति तथा कार्यक्रममा समावेश मुख्य नीतिहरु :
- शिक्षा सम्बन्धी कार्यनीति
तेमाल गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम गरिनेछ ।
- शिक्षा नियमावली, शिक्षा नीति, वहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवं प्रवर्द्धन गरिने छ।
- स्थानीय पाठ्यक्रमलाई कार्यन्वयन गर्दै विद्यालयमा पठनपाठन हुने स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक छपाई तथा कार्यान्वयन गर्ने ।
- साथै स्थानीय पाठ्यपुस्तक कार्यन्वयन गर्न स्थानीय पाठ्यक्रम प्रबोधिकरण तालिम सञ्चालन गरिनेछ ।
- सामुदायिक विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपातमा विषयगत दरबन्दी मिलान एवं शिक्षक सरुवालाई व्यवस्थापन गरी दरबन्दी वितरणलाई परिणममुखी बनाउन ठोस कदम चालिनेछ ।
- नियमित रुपमा विद्यालय सुपरिवेक्षण गर्ने व्यवस्था मिलाई शैक्षिक सुधारका लागि नियमित नियमनको व्यवस्था मिलाइनेछ ।
- भौगोलिक दुरीको आधारमा विद्यालय समायोजन गर्दै एकिकृत विद्यालय विकासको अवधारणा ल्याईनेछ।
- विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलाप संचालन गर्दै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत तथा प्रोत्साहन गर्ने नीति ल्याईनेछ।
- शिक्षा क्षेत्रका शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने उच्च शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिनेछ।
- सबै विद्यालयहरुमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ।
- सबै सामुदायिक विद्यालयहरुमा शैक्षिक ब्यवस्थापन सूचना प्रणाली (EMIS) लागु गर्ने नीति अवलम्बन गरिनेछ ।
- गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिकस्तर सुधारका लागि शिक्षा विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
- सबैः सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम अनुरुप स्थानीय मातृभाषामा पठनपाठन गराउने विद्यालयलाई प्रोत्साहन दिइनेछ ।
- सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न एक विद्यालय एक नर्स कार्यक्रमका लागि प्रदेश सरकारलाई सिफारिस गरिनेछ । साथै संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच भए नभएको अनुगमन गरिने छ ।
- सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको क्षमता विकास तालिम सञ्चालन गरिनेछ ।
- गाउँपालिकाभित्र खेलकुद विकासको माध्यमबाट खेलाडीहरुलाई प्रोत्साहन गर्ने निति लिइनेछ ।
- सामुदायिक विद्यालयमा कुनै बिदा, सरुवा वा अन्य कारणबाट शिक्षकको अभाव हुन नदिन शिक्षक बैंकको व्यवस्था मिलाई स्वयंमसेवक शिक्षकको व्यवस्थापन गरिनेछ ।
स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम
- नागरिकको पहुँच सुनिश्चित हुने गरी गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्न अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा स्तरोन्नती गरी रोकथाम, निदान र पुनर्स्थापन सेवालाइ सहज र नियमित वनाइनेछ
- तेमाल गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरु सूचना प्रविधिमैत्री बनाइनेछ ।
- गाउँपालिका भित्र रहेको खोप केन्द्र, गाउँघर क्लिनिकहरुमा आवश्यक पूर्वाधार निर्धारण गरी दक्ष जनशक्तिद्धारा समुदायमा नै स्वास्थ सेवा उपालब्ध गराउने नीति लिइनेछ ।
- निःशुल्क आँखा शिविर नसर्ने रोगहरु तथा पाठेघारको रोग सम्बन्धी कार्यक्र सञ्चालन गराइनेछ ।
- स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य संस्थाको भूमिका ,महामारी रोग नियन्त्रण तथा ग्रामीण भिडियो एक्सरे सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गराइनेछ ।
- तेमाल गाउँपालिका भित्र रहेको सम्पूर्ण स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८२।०८३ देखि लेखापरिक्षण गर्ने व्यवस्था मिलाउने नीति लिइनेछ ।
- मानसिक स्वास्थ्य सम्बन्धी रोगहरु पहिचान गरी उपचार र उद्धारको लागि दक्ष जनशक्ति परिचालन गरिने नीति लिइनेछ ।
- स्वास्थ्य क्लिनिकहरुले प्रदान गर्ने आधारभुत सेवाहरुको शुल्कलाई नियमन गरिनेछ।
- स्वास्थ्य चौकीहरुमा ल्याब सेवा सञ्चालनका लागि विशेष व्यवस्था गरिनेछ।
- जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ ।
- मोतिया विन्दुको शल्याक्रिया शिविर सञ्चालन गरिनेछ ।
- मा.वि र आ.वि.हरुमा आँखा, दाँत, नाक, कान, घाँटी सम्बन्धी शिविर सञ्चालन गरिनेछ ।
- पिउनेपानी परीक्षण शुद्धिकरणको कार्यक्रम सञ्चालन गरिनेछ ।
- मधुमेह रोगको ल्याव परिक्षण निः शुल्क गरिनेछ ।
- नसर्ने रोग सम्बन्धी कार्यक्रमः मधुमेह, उच्च रक्तचाप जाँच र गाउँघर क्लिनिक विस्तार गरिनेछ ।
भौतिक पूर्वाधार विकास (आवास तथा पूर्वाधार)
- आवधिक योजना, आवास योजना, र वस्ति विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
- गाउँपालिकाका केन्द्र जोड्ने सडकहरुलाई आगामी दुई वर्षभित्र गुणस्तरीय ढलान तथा ग्रावेल सडकमा रुपान्तरण गर्न र रणनितिक योजना तर्जुमा गरी सञ्चालनमा ल्याइनेछ ।
- विकास आयोजना छनौट गर्दा सामाजिक,आर्थिक लाभ,उत्पादन र रोजगारी सिर्जनालाई प्रमुख आधार लिइनेछ । पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिनेछ । कार्यान्वयनमा रहेका आयोजना तथा कार्यक्रमहरूको पुनःप्राथमिकीकरण गरी नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुनसक्ने आयोजना तथा कार्यक्रममा यथेष्ट बजेट विनियोजन गरिनेछ । आयोजनाको कार्यान्वयन प्रगतिका आधारमा सम्पन्न गर्ने, निरन्तरता दिने, स्थगन गर्ने वा खारेज गर्ने नीति लिइनेछ ।
- दिर्घकालिन लगानी मार्ग दर्शनका लागि गाउँपालिका सडक गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
- भवन निर्माण अनुमति प्रकृयालाई प्रविधिमा आधारित तुल्याई सहजिकरण गरिनेछ।
- गाउँपालिका भित्र भु(उपयोग नीति लागु गर्दै जाने नीति लिइनेछ।
- गाउँपालिका भित्र सडकको मापदण्डलाई आवश्यकताको आधारमा कायम गरी सडक मापदण्डको समस्यालाई समन्वय गरी समाधान गरिनेछ।
- गाउँपालिकाको स्वामित्वमा रहेको भौतिक संरचनाहरुको आवधिक रुपमा मर्मत सम्भार कार्य सम्पन्न गरिनेछ ।
- गाउँपालिकाबाट विनियोजन हुने विकासहरुको कार्य प्रगतिको आधारमा मध्यकालिन खर्च संरचना (MFEF) मार्फत प्राथमिकताको आधारमा लागू गर्दै लैजानेछ ।
कृषि तथा पशुपंक्षी सम्बन्धी कार्यनीति
- तेमाल गाउँपालिकामा उत्पादन भएको बोद्यिचित्ता मालाको संरक्षणका लागि सहजीकरण गरिनेछ ।
- तेमाल गाउँपालिकाले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ ।
- कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण एवम् बजारीकरणको स्पष्ट मार्गचित्र तयार गरीनेछ ।
- तेमाल गाउँपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने दलित तथा पिछडिएको वर्गको घर परिवारको पहिचान गरिनेछ ।
- अर्गानिक खेतिको विस्तार र तरकारी तथा खाद्यान्नमा विषादीको उचित व्यवस्थापन गर्न विशेष व्यवस्था गरिनेछ।
- गाउँपालिका क्षेत्र भित्र हुने परम्परागत औषधीजन्य वनस्पतिको संरक्षण, खेति प्रवर्द्धन र प्रशोधनका कार्यहरु संचालन गरिनेछ।
- तेमालको रैथाने बाली पहिचान, संरक्षण तथा विस्तार गरिनेछ ।
- तेमाल गाउँपालिका क्षेत्रमा भित्रिने खाद्य वस्तुको गुणस्तर परीक्षणको व्यवस्था मिलाईनेछ ।
- पशुपालनलाई व्यवस्थित गर्न पशुपंक्षीजन्य व्यवसायको अभिलेखीकरण प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।



















