काठमाडौं – दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घर डोजर लगाएर भत्काएका छन् ।
बुधबार दिउँसो लमही बजारमा रहेको आफ्नो पुरानो घर डोजरमार्फत् भत्काएर मेयर चौधरीले हुलाकी सडक विस्तार सुरु गरेका हुन् ।
स्थानीयले विभिन्न ठाउँमा गरेको अतिक्रमणका कारण लामो समयदेखि लमही-कोइलाबास हुलाकी सडकखण्ड क्षेत्रको सडक विस्तार हुन सकेको थिएन ।
बुधबारबाट लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो । सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५-१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो ।
साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो । ३२ जना स्थानीयले घरको क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेका छन् ।



















