विश्व रेकर्ड बनाएको ऐरीलाई नेपाल फर्किने बितिकै यति ठुलो सम्मान, सबै नेपाली खुशी !

काठमाडौं – १९औं एशियन गेम्समा टी-२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाल प्रहरीका ५ जना क्रिकेट खेलाडीलाई सम्मान गरिएको छ ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झालाई सम्मान गरेका हुन् ।

नेपाल प्रहरीले नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई विशेष बढुवा गरेर सहायक हवल्दार बनाएको छ । १९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले बिहीबार एक तह बढुवा गरेको हो ।

नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका ऐरीले चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका थिए।

सुदूरपश्चिमबाट क्रिकेटमा उदाएका दीपेन्द्रले दुर्लभ किर्तिमान बनाएपछि चर्चामा छन्। सन् २०१७ को मार्च ११ मा केन्याविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका २३ वर्षीय दायाँ हाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१८ मा नेदरल्याण्डस्विरुद्धको खेलबाट नेपाली टोलीबाट ओडीआईमा डेब्यू गरेका थिए ।

अहिलेसम्म नेपालका तर्फबाट ५२ ओडीआई म्याच खेलेका ऐरीले ८८९ रन बनाएका छन्। ४५ टी–२० प्रतियोगितामा नेपालका लागि एक हजार १५५ रन बनाएका छन् । उनले अहिलेसम्म खेलका अन्तर्राष्ट्रिय खेलमा ओडिआईमा ३६ र टी–२० मा २२ विकेट लिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रिय स्तरका महत्वपूणर् खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको अस्तित्व र प्रतिष्ठा उँचो भएको बताए ।

यी खेलाडीहरू हाम्रा हुन् भनेर भन्न पाउँदा समग्र संगठनलाई गर्व र हर्ष महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको र यसप्रति संगठन गम्भीर रहेको उनको भनाई छ ।

कार्यक्रममा सम्मानित खेलाडीहरूकोतर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी संगठनमा आवद्ध भएकोमा गौरव महसुस गरेको बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

आजै स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सह-सचिव प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...