खाडीबाट युरोपतिर मोडियो श्रम गन्तव्य, यी ५ देशसँग श्रम सम्झौता हुँदै

काठमाडौं – खाडीबाट युरोपतिर मोडियो श्रम गन्तव्य, यी ५ देशसँग श्रम सम्झौता हुँदै, विभिन्न पाँच श्रम गन्तव्य देशमा श्रम समझदारीका लागि सरकारले प्रक्रिया अघि बढाएको छ ।

साउदी अरेबिया, रोमानिया, जर्मनी, सेसल्स र माल्दिभ्ससँग श्रम समझदारीको प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालले श्रम समझदारीको ड्राफ्ट तयार गरेर यी देशहरूलाई पठाइसकेको छ । यी देशहरूसँगै युरोपका अरू देशले पनि नेपालसँग श्रम समझदारी गरेर श्रमिक लैजान इच्छा राखेका छन्, पोर्चुगल पनि नेपालसँग श्रम समझदारी गर्न इच्छुक देखिएको छ श्रम सचिव अर्यालले भन्नुभयो अब खाडीबाट बिस्तारै नेपालीको श्रम गन्तव्यलाई युरोपतिर मोड्न खोजिरहेका छौँ ।

खाडीका देशको तुलनामा युरोपेली देशहरूमा कमाइ पनि बढी हुने हुँदा पछिल्लो समय नेपालीहरूको रोजाइको गन्तव्य युरोपतिर मोडिँदो छ । सरकारसँग श्रम समझदारी नभएकै कारण श्रमिकहरू लाखौँ रुपैयाँ एजेण्टलाई बुझाएर युरोपका विभिन्न देशमा पुगिरहेका छन् ।

श्रम सचिव अर्यालका अनुसार मरिससबाट केही मात्रामा कामको मागहरू आइरहेको छ । तर युरोपका अन्य देशबाट सरकारसँग श्रम समझदारी नभए पनि कामको माग बढ्दो छ र जानेहरूको सङ्ख्या पनि बढिरहेको छ ।

यसअघि युरोपेली देश मरिसससँग नेपालले श्रम समझदारी गरिसकेको छ । बेलायतसँग पनि नेपालका स्वास्थ्यकर्मीलाई बेलायती नागरिक सरह सेवा सुविधा पाउने गरी त्यहाँको स्वास्थ्य क्षेत्रमा रोजगारी उपलब्ध गराउने गरी श्रम समझदारी भइसकेको छ ।

यस्तै नेपालले सन् २००५ मै खाडीको देश कतारसँग श्रम सम्झौता गरेको छ भने दक्षिण कोरियासँग २०६६ मा श्रम सम्झौता गरेको छ ।

यस्तै बहराइनसँग सन् २०१८ मा, जोर्डनसँग सन् २०१७ मा सरकारले श्रम सम्झौता गरेको छ भने मलेसियासँग सन् २०१८ मा, जापानसँग सन् २०१९ मा, यूएईसँग पनि सन् २०१९ मा र इजरायलसँग सन् २०२० मा नेपालले श्रम सम्झौता गरेको छ । अहिले श्रम सम्झौता अनुसार इजरायल र दक्षिण कोरियामा जी टु जी अर्थात् सरकारी प्रक्रियामार्फत नै श्रमिकहरू रोजगारीका लागि गइरहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...