काठमाडौं – चुनावी अभियानका क्रममा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र (बालेन) साहले ‘बलिदान’ शीर्षकको र्याप सबैभन्दा धेरै प्रयोग गरे, जसमा चर्चित गीत ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन…’ कोरसका रुपमा थियो ।
‘…यो राज्यको राजाहरुमा राजयोग नै छैन, यो रामराज्य हैन .. भन्दै राजनीतिक नेतृत्वमाथि व्यंग्य गरेको गीतका कारण पनि बालेनले धेरैको मन जिते । नेकपा एमाले र नेपाली कांग्रेस जस्ता ठूला दलका उम्मेदवारलाई पराजित गर्दै बालेन मेयर पनि चुनिए ।
तर बालेन मेयर भएको महानगरको नगर प्रहरीले शुक्रबार महाराजगञ्ज क्षेत्रमा ठेलामा मकै बेच्दै गरेकी महिलामाथि गरेको ज्यादतीले बोलनमाथि नै प्रश्न उठाएको छ ।
समाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सडक किनारमा मकै बेचिरहेकी महिलामाथि नगर प्रहरी जाइलागेको देखिन्छ । ‘फुटपाथ र सडक अतिक्रमण गरेर व्यापार गर्न नपाइने’ महानगरको नियमको पालना गराउन भन्दै नगर प्रहरीले बेचिरहेको हरियो मकैसहित ठेला उठाएर गाडीमा हाल्न खोज्छन् । उनी नगरप्रहरीको अघि हात जोडि्छन्, विन्ती गर्छन्, नलगिदिन हार गुहार गर्छन् । तर, लछारपछार गर्दै नगर प्रहरीले ठेला गाडीमा हाल्छन्, आधा मकै सडकमा असरल्ल खस्छन् ।
अर्क एक पुरुष गाडा र मकै छुटाउन गाडीको पछाडी पछाडी दौडिन्छन् । तर नगर प्रहरी एउटै ठूलाे अपराधीलाई समातेको झैँ गरेर ठेला गाडीमा हालेर जान्छन् ।
काठमाडौंको सडक पेटीमा नगर प्रहरी निमुखा नागरिकमाथि जाइलागेको यो पहिलो पटक होइन । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा स्वयम् यस्ता घटना दिनहुँ हुने बताउँछन् । ‘यस्तो घटना त दैनिक हुन्छन् । हामीले पटक-पटक ठेलागाडा नराख्न भनेका छौं । फुटपाथ र सडकमा नराख्नू भनेको ठाउँमा ठेला राखेपछि जफत हुने कुरा सामान्य हो,’ सापकोटाले भने ।
यसरी निमुखामाथि जाइलाग्ने काम मेयर बालेनको निर्देशनमा भएको पनि होइन होला । तर यस्तो गल्ती नगर्ने बाचा गरेर जनमत बटुलेर बालेन मेयर भएको महानगरको नगर प्रहरीको व्यवहार नसुध्रिएका कारण उनीमाथि धेरैले प्रश्न उठाएका छन् ।



















