काठमाडौँ — धरानका नवनियुक्त मेयर हर्क साम्पाङ बधाई तथा शुभकामनाको अबिर मेट्न नपाउदै मेयर हर्क साम्पाङ खानेपानी मुहानमा पुगेको छ । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् ।
साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका छन । उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए ।
साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् । उनले चुनावमा जितेपछि खुशी मनाउने भन्दा काम गरेर देखाउन भनेका छन् ।
यो पनि : ३९ वर्षिय हर्कराज राई धरान उपमहानगरपालिका, ३२ वर्षिय बालेन्द्र (बालेन) शाह काठमाडौं महानगरपालिका र ५८ वर्षिय गोपाल (गोपी) हमाल धनगढी उपमहानगरपालि प्रमुखमा निर्वाचित भएका छन् ।
मिडिया र समाजिक सञ्जालमा बालेनको चर्चा अत्यधिक रहेपनि ३ लाख मतदाता रहेको काठमाडौं महानगरको मेयरमा निर्वाचित हुन्छन् भन्ने धेरैलाई विश्वास नै थिएन् ।
हर्कराज राईलाई मुलधारका सञ्चार माध्यमले पूरै बेवास्ता गरेको जस्तै अवस्था थियो । २०७६ सालको स्थानीय निर्वाचनमा ५ सय मत पनि कटाउन नसकेकाले हर्क ठूलो चूनौती बन्छन् भन्ने मूलधारका राजनीतिक दललाई विश्वास थिएन् ।
तर, धनगढीका गोपाल हमालको अवस्था भने फरक थियो । २०७४ सालको स्थानीय निर्वाचनमा समेत स्वतन्त्रबाट निर्वाचन लड्दै हमाल दोस्रो भएका थिए । उनी तत्कालीन समयमा २ हजार ७ सय मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार नृप वडसँग पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा करिब ३ हजार मत बदर हुँदा पराजित भएका हमाल यसपटक भने १२ हजार मतान्तरले विजयी भएका छन् ।
यसपटक हमालले गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नृप वड र नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द दुबैले प्राप्त गरेभन्दा ३ हजार बढी मत पाएका छन् । यसपटक हमाले सदर मतको ५१ प्रतिशत मत पाएका छन् ।
निर्वाचनभन्दाअघि नै हमालको जित एकप्रकारले सुनिश्चित जस्तै थियो । हरेक टोल र समाजमा ‘एक भोट गोपी दाईलाई’को नारा चलेको थियो ।
तर, धरानका हर्कराज राईले भने चुपचाप विद्रोह गरेका छन् । बालेनका विषयमा धेरै व्यक्तिको धारणा निर्वाचनमा राम्रो हस्तक्षेप गर्न सक्ने भएपनि जातका आधारमा जेलिएको काठमाडौं महानगरको राजनीतिमा स्वतन्त्रले जित्न सम्भव नहुने तर्क गरिन्थ्यो ।
तर, सबैको सार्वजनिक आँकलन गलत भएको छ । बालेनले करिब २० हजार अन्तरले निर्वाचन जित्ने बाटोमा भएका छन् ।
चूनौतीको पहाड
सन् २००५ मा अमेरिकी लेखक जेम्स माइकल सुरोवेस्की प्रकाशित गरेको ‘विस्डम अफ क्राउड’ पुस्तकमा एकजना व्यक्तिले भन्दा भिडले विवेकसम्मत् निर्णय गर्ने उल्लेख छ ।
‘निर्णय लिने स्वतन्त्रता भएका क्षमतावान व्यक्तिको भिडले बुद्धि र अनुभवको स्तर केही कम हुँदा समेत एकजना व्यक्तिभन्दा निकै राम्रो निर्णय गर्न सक्छ,’ पुस्तकमा भनिएको छ ।
सुरोवेस्कीले निकालेको निष्कर्षलाई आधार मान्ने हो भने धरान, काठमाडौं र धनगढीका मतदाताले विवेकसम्मत् निर्णय गरेको मान्न सकिन्छ ।
चुनावी रणनीतिकार प्रशान्त किशोर निर्वाचनका क्रममा जनताको आवाज उठाउन सक्ने र जनतालाई मैले तपाईंका आवाज उठाएको छु भन्ने विश्वास दिलाउन सक्ने व्यक्तिले नै निर्वाचन जित्ने बताउँछन् ।
काठमाडौं होस् वा धरान र धनगढी राजनीतिक दलको नेतृत्वको प्राथमिकतामा ‘कामको राजनीति’ नभएको जनताले महसुस गरे ।
स्थापित सत्ताबाट निराश जमात काम कसले गर्न सक्छ भनेर विकल्पको आशमा रहने ‘विस्डम अफ क्राउड’ पुस्तकमा उल्लेख छ ।
नेपालमा मात्रै होइन्, सन् २०१७ मा फ्रान्समा राष्ट्रपति रहेका फ्राँस्वाँ ओलान्दलाई पराजित गर्दै एमानुएल माक्रों सत्तामा पुगेका थिए । एन माश भन्ने नयाँ पार्टी स्थापना गरेका माक्रों सत्तारुढ दलप्रति रहेको निराशालाई एकीकृत गर्न सक्दा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
फ्रान्सको इतिहासमा सन् १९६० पछि रिपब्लिकन र सोसलिस्ट पार्टी मात्रै सत्तामा पुगेका थियो । नयाँ पार्टीबाट सन् २०१७ मा निर्वाचित भएका माक्रों गत महिना पुनः ५ वर्षका लागि निर्वाचित भएका छन् ।
भिडबाट जन्मिएको पार्टी स्थिर बन्ने बाटोमा लागेको छ । यस्तै भिड र सत्तारुढ दलको निराशाबाट भारतको राजधानी नयाँ दिल्लीमा समेत सन् २०१३ मा अरबिन्द केजरीवालले आम आदमी पार्टी स्थापना गरेका थिए ।
पहिलो निर्वाचनमा जनतालाई नेपालमा बालेन, हर्क र गोपीले देखाए जस्तै गरी सपना देखाएका केजरीवाल त्यसपछिका निर्वाचनमा भने कामका आधारमा जनतासँग भोट मागिरहेका छन् । जसलाई जनताले पत्ताएको पनि देखिन्छ । दिल्लीबाट शुरु भएको आम आदमीको सत्तारोहण पन्जाबमा पुगिसकेको छ ।
फ्रान्स वा भारतमा नयाँ राजनीतिक दलले भिडमा भएको निराशालाई एकीकृत गरेको थियो । तर, नेपालमा भने हाललाई स्वतन्त्र रहेका तीन जना व्यक्तिले मुलधारका राजनीतिक दलप्रतिको निराशालाई एकीकृत गरेका छन् ।
विवेकशील र साझा पार्टीले वैकल्पिक राजनीतिक दलको नेपाली चाहनालाई निराश बनाएपछि बालेनहरु नयाँ पार्टी बनाउने भन्दा पनि स्वतन्त्रबाटै निर्वाचन लड्ने प्रयासमा लागेका हुन् ।
नेपालमा पनि वैकल्पिक दलबाट सफल हुन्छ भन्ने लागेको भए ४ वर्षसम्म विवेकशील साझा पार्टीका सुदुरपश्चिम प्रदेश संयोजक रहेको गोपी स्वतन्त्र भएर निर्वाचनमा जाने थिएनन् । पद, विचार, संगठन, नीतिलगायतका विषयमा विवेकशील साझा एकमत नभएपछि नेपालमा वैकल्पिक राजनीति चल्दैन भन्ने सन्देश समेत गएको थियो । जसले गर्दा नेपालमा राजनीतिक दल र नेतृत्वप्रति वितृष्णा बढ्दो छ ।
बालेनले आफ्नो जित सुनिश्चित भएपछि बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत् गाउँ–गाउँ र टोल–टोलमा बालेन जन्मनु पर्ने भन्दै लामो भनाइ सार्वजनिक गरेका छन् ।
काठमाडौंका मतदाताले देखाएको विश्वासप्रति कृतज्ञ देखिएका बालेनले निर्वाचनका क्रममा गरिएका घोषणा कार्यान्वयन भएपछि मात्रै विजय जुलुस मनाउनु पर्ने बताएका छन् । यस्तै धरानका मेयर हर्क पनि विगतभन्दा संयमित देखिएका छन् ।
मंगलबार सपथ ग्रहण गर्दै हर्कले भने, ‘जनताले जिम्मेवारी दिइसकेका छन् । अब काम गरेर देखाउनु पर्छ । यदि मैले बाटो बिराएँ भने तपाईंहरु खबरदारी गर्न नछाड्नु होला ।’धनगढीका गोपी हमालले देखिने गरी कामको शुरुवात गरिसकेका छन् ।
हमालले धनगढी उपमहानगरभित्रका निजी स्वास्थ्य संस्थामा नगरभित्रका ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई ओपीडी सेवा निःशुल्क, अन्य उपचारमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट हुने व्यवस्था मिलाएका छन् ।
त्यत्तिमात्रै होइन्, धनगढीमा पूर्वाधार विकास गरिरहेका विभिन्न सस्थाका प्रमुखलाई बोलाएर पूर्वाधार विकासमा देखिएका विवाद नगरपालिकाको नेतृत्वमा समाधान गर्ने र नगरभित्रका खाल्डाखुल्डी सबै पुर्न आग्रह गरिसकेका छन् ।
माथि उल्लेखित काम कुनै उल्लेखनीय होइनन् । हर्क, बालेन र गोपी नेपालका राजनीतिक दलमा संरचनात्मक समस्या रहेको र वर्तमान नेतृत्वबाट विकासका काम सम्भव नहुने दाबी गर्दै सत्तामा पुगेका हुन् ।
उनीहरुले आफूले गर्न सक्ने कामको सूची समेत सार्वजनिक गरेका छन् । तर, आगामी दिनमा दलीय प्रतिनिधिको बहुमत रहेको नगरकार्यपालिका र नगरसभाबाट जनतालाई परिवर्तन महसुस हुने विकास योजना कसरी पारित गराउँछन् र सुस्त भनिएको कर्मचारीबाट जनपक्षीय योजनाको कार्यान्वयन कसरी गर्छन् त्यो हेर्न बाँकी नै छ । यदि हर्क, बालेन र गोपीहरुको सफलता वा असफलताबाट नेपालको राजनीतिक प्रणाली नै सफलता वा असफलताको बाटोमा जानेछ ।
हाल निर्वाचन भएका ७५३ स्थानीय तह र १ करोड ५० लाख मतदातामा करिब २ प्रतिशतले मात्रै दलका प्रतिनिधिको विकल्प खोजेका छन् । जबकी देशभर कैयौँ स्वतन्त्र उम्मेदवार थिए ।
स्वतन्त्र के सक्छन् के सक्दैनन् ?
स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित भएपछि विभिन्न राजनीतिक दलप्रति आस्था राख्ने व्यक्तिले स्वतन्त्र उम्मेदवारले केही गर्न नसक्ने बताउँदै आएका छन् । तर, काठमाडौंं महानगरमा निर्देशक रहेका एक अधिकारी मेयरले नियत सफा राखेर काम गर्दा नगरभित्रका कैयौँ काम गर्न सक्ने बताउँछन् ।
‘नगर प्रमुख मात्रै नभई उहाँको टीम कस्तो छ भन्नेमा काम हुने वा नहुने निर्भर रहन्छ,’ ती कर्मचारीले भने, ‘कर्मचारीले जसलाई पनि सहयोग गरिहाल्छन् । निस्वार्थ भएर मेयर योजना बनाउनु भयो भने वडा अध्यक्षले पनि असहयोग गर्न सक्दैन् । नगरकार्यपालिका वा नगरसभामा मेयरको प्रस्ताव फेल गर्न पनि कारण त दिनु पर्ला नी !’
महानगरमा कार्यरत अर्का कर्मचारी मेयरको नियत सफा हुँदैमा काम हुन नसक्ने बताउँछन् ।
‘सरकारी पैसा खर्च गर्न संयोजनकारी भूमिका खेल्न सक्ने क्षमता चाहिन्छ । नेतामा लोभ होलान् तर काम नै नगरौं भन्ने सोच हुँदैन् । राजनीतिक नेतृत्वले चाहदा पनि काम हुँदैनन्,’ ती कर्मचारीले भने, ‘नीतिगत निर्णय राजनीतिक नेतृत्वले गर्ने हो ।
कार्यान्वयनको विषयमा फेरि कर्मचारीतन्त्र सक्रिय हुनु पर्छ । एउटा कुरा के साँचो हो भने राजनीतिक नेतृत्वमा लोभ भएन् भने केही काम त हुन्छ । कर्मचारी पनि काम गर्न बाध्य हुन्छन् ।’
कर्मचारीले काम नगर्दा आफैं कर्मचारी नियुक्त गर्न सक्ने अधिकार कानूनले स्थानीय तहलाई दिएको छैन । यस्तै कर्मचारीलाई कारबाही गर्न सक्ने पनि अधिकार स्थानीय तहमा छैन । त्यसो भन्दैमा के कर्मचारीले कानून विपरीत काम गर्न पाउँछन् त ?
पक्कै पाउँदैन् ।
कानून विपरीत काम गर्दा सजाय हुने व्यवस्था तर कानून बमोजिम काम नगर्दा भने केही बारबाही हुने व्यवस्था छैन । पूर्वमुख्य सचिव राजेन्द्र किशोर क्षेत्री गलत काम गर्दा मात्रै होइन काम नगर्दा पनि सजाय हुने कानून व्यवस्था नगर्दा पनि नेपालका सरकारी कर्मचारीमा सुधार नहुने बताउँछन् ।
देखिने गरी भ्रष्टाचार नगर्दासम्म जागिरबाट हटाउन नसकिने व्यवस्था भएका सरकारी कर्मचारीबाट काम लिनु तीनै स्वतन्त्र मेयरको ठूलो चूनौती हो ।
केही व्यक्तिले स्थानीय सरकारले सबै काम गर्न सक्ने ठानेका छन् । त्यस्तो होइन् । नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ ।
संविधान, स्थानीय सरकार सञ्चालन ऐन र विभिन्न तहका सरकारको कार्यविस्तृतिकरण अनुसार स्थानीय सरकारले ४ मिटर चौडाइसम्मको बाटो निर्माण गर्न सक्छ । १० कक्षासम्मका विद्यालयका विषयमा निर्णय गर्न सम्पूर्ण अधिकार स्थानीय सरकारलाई छ । आधारभूत स्वास्थ्यको विषयमा पनि स्थानीय सरकारले काम गर्न सक्छ ।
फोहरमैला व्यवस्थापन पनि स्थानीय सरकारको एकल अधिकारभित्र पर्छ । स्थानीय सरकारमा जनता पुग्नै पर्ने बाध्यताको कारणको हो विभिन्न सिफारिस । घर जग्गा खरिद बिक्री गर्दा, नागरिकता बनाउँदा, जन्मदर्ता गर्दा, बृद्धभत्ता लिँदा स्थानीय सरकारको सिफारिस अनिवार्य हुन्छ । स्थानीय सरकारबाट घरको नक्सा पास गर्दा झण्झट नबेहोर्ने व्यक्ति सायदै होलान् । व्यवसाय दर्ता गर्न पनि स्थानीय तहमा पुग्नै पर्छ ।
यी सबै सेवा लिन स्थानीय सरकारमा पुगेका कैयौँ व्यक्तिले यसपटक विद्रोह गरेर देशका तीन ठूला सहरमा स्वतन्त्रलाई जिताएका छन् । जनताको अपेक्षा छ, स्वतन्त्रले केही परिवर्तन गर्ने छन् ।
मेयरले नियत सफा राखेर काम गर्दा विद्यालयमा सुधार गर्न सक्छ, आधारभूत स्वास्थ्य सेवा सबल बनाउन सक्छ । ४ मिटरभन्दा कम चौडा सडक राम्रो बनाउन सक्छ । फोहरमैला व्यवस्थापन गर्न सक्छ । झण्झट बिना सिफारिस मिल्ने व्यवस्था गर्न सक्छ । तर, मेयर वा मेयरका टीमका सदस्यले स्वार्थ राख्दै काम गरे कर्मचारीबाट सहयोग सकारात्मक काममा सहयोग लिन कठिन हुने महानगरका एक निर्देशक बताउँछन् ।
‘साना–साना विषय मेयरलाई थाहा नै हुँदैन्, यहाँ त मेयरसापले यस्तो भन्नु भएको छ भनेर लाभ लिन खोज्ने स्वार्थ समूह हाबी हुन्छ,’ महानगरका एक निर्देशक भन्छन्, ‘त्यसलाई स्वतन्त्र मेयरले कसरी व्यवस्थापन गर्नु हुन्छ त्यसमा उहाँहरु सफल हुने वा नहुने निर्भर गर्छ ।’
दलविहीन सम्भव छ ?
भारतमा केजरीवालको उदयपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिमा नयाँ नयाँ अनुहार प्रवेश गराउनुको साथैं कैयौँ युवालाई अवसर दिएका थिए । पुराना र पार्टीप्रति कटिवद्ध व्यक्तिभन्दा नजिता निकाल्न सक्ने व्यक्तिलाई दबाब दिन सत्तारुढ दल बाध्य भएको थियो ।
कामभन्दा पनि हिन्दु मुस्लमानको नारामा चुनाव लड्दै आइरहेको भारतीय जनता पार्टीलाई केजरीवालको आम आदमी पार्टीले कामको नारामा निर्वाचन लड्न बाध्य बनाइदिएको छ । केजरीवालले कामको राजनीति नारा दिएर विभिन्न प्रदेशमा पार्टी विस्तार गरिरहेका छन् ।
नेपालमा पनि स्वतन्त्र उम्मेदवारको उदय कामको राजनीतिलाई लिएर भएको देखिन्छ । तीनै जना स्वतन्त्र उम्मेदवारले जनअपेक्षा अनुसार काम गर्न सक्दा नेपालको राजनीति कुन ट्रयाकमा जान्छ होला ? यदि स्वतन्त्र उम्मेदवार काम गर्न असफल हुँदा के होला ?
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा तीन जना स्वतन्त्र उम्मेदवारको जितले पार्टीहरु सुधार हुनु पर्ने सन्देश दिएको बताउँछन् ।
‘पुराना पार्टी मतदातासँग जोडिन नसक्दा नयाँ र स्वतन्त्रले अवसर पाएका हुन्,’ थापाले गत आइतबार आयोजित एक कार्यक्रममा भनेका थिए, ‘विगतदेखि हामीले राजनीतिक दलमा सुधार हुनुपर्ने आवाज उठाउँदै आएका थियौँ । जनताले सुधारको आवश्यकतालाई अनुमोदन गरेका छन् ।’
हुन पनि पछिल्लो समय जनताभन्दा दलको नेतृत्वलाई रिझाएर पदमा पुग्ने क्रम बढेको छ । नेताको वरीपरी रहनुलाई नै राजनीति गरेको मान्ने क्रम सबै दलमा बढेको छ ।
यो स्थानीय निर्वाचनमार्फत् मतदाताभन्दा ठूलो कोही नरहेको सन्देश जनताले दिएका छन् । ग्राउण्डसँग सम्बन्ध नबनाउँदा राजनीति पार्टी नै पतनको बाटोमा जान सक्ने सन्देश पनि स्थानीय निर्वाचनले दिएको छ ।
जसरी फ्रान्समा ६५ वर्ष सत्तामा रहेका दल जनतासँगको सम्बन्धबाट टाढा पुग्दा सत्ताबाट पनि टाढिएका छन् । भारतमा ६५ वर्ष शासन गरेको कांग्रेस आई दुई प्रदेशमा मात्रै सीमित भएको छ, नेपालमा पनि स्थापित राजनीतिक दलको विकल्प आउने सम्भावना नभएको होइन् ।
तर, स्वतन्त्रले नै देशभर शासन गर्ने अवस्था भने आउने छैन् । किनभने प्रतिनिधिसभा स्वतन्त्र व्यक्तिले मात्रै भरिँदा राम्रा नीति बन्न सक्छन् भन्ने उदाहरण देखिएका छैनन् । राजनीतिक दलको विकल्प स्वतन्त्र हुन सक्दैनन् । राजनीति दलको विकल्प सुधारिका र जनतासँग जोडिएका राजनीतिक दल नै हुन् ।
जसले देशमा देखिएका कयौँ समस्या समाधान गर्न सक्छन् । दलीय कार्टेलिङ र कर्मचारीको मनोमानीमा चलिरहेको देशलाई प्रणाली र पद्धतीमा चलाउन सक्छन् ।
सहरी क्षेत्रमा स्वतन्त्रको प्रभाव जसरी देखिएको छ, ग्रामीण क्षेत्रमा पनि त्यसैगरी पर्छ भनेर मान्न सकिन्न । आज पनि ग्रामीण क्षेत्रमा जात, धर्म, निकटता र केही व्यक्तिगत लाभ हानीका आधारमा मतदान गर्ने प्रवृत्ति छ । तर, तीन मुख्य सहरमा केही सुधारका काम हुँदा कामका आधारमा मतदान गर्ने लहर बढ्दै जानेछ ।
उक्त लहरले नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन योगदान गरेका दललाई सफाई गरेर फ्रान्समा एन माश र भारतमा आम आदमी पार्टी जस्तै कामको राजनीति गर्ने नयाँ दल स्थापना गर्न सक्नेछ ।



















