काठमाडौँ l पुष्पराम केसी सशस्त्र प्रहरी बल नेपालको १९ दिनका लागि प्रहरी महानिरीक्षक (आइजीपी) बन्नुभएको छ । यसअघिका महानिरीक्षक शैलेन्द्र खनालले २०७८ चैत २८ गते सोमबार आइजीपीको चार वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकास पाएपछि २०७८ चैत ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सरकारले केसीलाई ११औँ महानिरीक्षकमा बढुवा गरेको हो ।
खनाल महानिरीक्षक भएको चार वर्ष नपुगेको भए हालका आइजीपी केसी अतिरिक्तबाटै बाहिरिनुपर्ने थियो । खनालको ३० वर्षे सेवा अवधि हिसाब गर्ने हो भने केसीसँगै अवकास पाउनुहुन्थ्यो, तर सशस्त्रमा महानिरीक्षक भएको चार वर्ष पुगेपछि पनि अनिवार्य अवकास हुने बाध्यकारी व्यवस्था केसीका लागि अवसर बन्न पुग्यो ।
सशस्त्रमा ३० वर्ष सेवा अवधि वा आइजी भएको चार वर्ष जुनअघि आउँछ त्यही मितिबाट अनिवार्य अवकास लिनुपर्ने व्यवस्था छ । आइजीका प्रतिष्पर्धीमा उहाँसँगै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल पनि हुनुहुन्थ्यो तर वरीयताका आधारमा सरकारले केसीलाई पदोन्नति गरेको हो । तीस वर्षे सेवा अवधिका कारण उहाँहरु यही २०७९ वैशाख १८ गते अवकाश लिँदै हुनुहुन्छ ।
विसं २०२३ भदौ १५ गते नुवाकोटको तलाखु–३ मा जन्मनुभएका सशस्त्र प्रहरी महानिरीक्षक केसी हाल काठमाडौँको हात्तीगौडामा बस्नुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट एमपीए गर्नुभएका केसी २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सत्य, सेवा, सुरक्षणम्को झण्डामुनी रहेर सेवा दिन तल्लिन हुनुभयो ।
विसं २०५८ वैशाख ४ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बल, नेपालमा स्थानान्तरण हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक केसी नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको थियो ।
महानिरीक्षक केसीले सुकीर्तिमय राष्ट्रदिप (तृतीय), सुप्रबल जनसेवाश्री तेस्रो, वीरेन्द्र ऐश्वर्य सेवा पदक, गोर्खा दक्षिणबाहु चौथो, प्रसिद्ध सेवा पदक, यूएन सेवा पदक, परदेश सेवा पदक, गद्धी आरोहरण रजत पदक, दुर्गम सेवा पदकलगायत १२ विभुषण, मानपदवी, पदक तथा अलङ्कारबाट विभूषित हुनुभएको छ ।
केसीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, कार्य तथा सीमा सुरक्षा विभाग, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, एपीएफ कमाण्ड तथा स्टाफ कलेज, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालय, सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय, तालिम केन्द्र, गणलगायत कार्यालयको प्रमुख भएर जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
उहाँले ससस्त्र प्रहरीको नेतृत्व सम्हालेलगत्तै सशस्त्र प्रहरी कर्मचारीबाट राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा निःस्वार्थ भावनाकासाथ व्यावसायिक भइ कुशलतापूर्वक कार्यसम्पादन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सशस्त्र प्रहरी कर्मचारीले आगामी दिनमासमेत नियुक्तिका क्षेत्रहरुमा उच्च हौसलाकासाथ चेन अफ कमाण्ड, फौजी मर्यादा र अनुशासनमा रही सामुहिक भावनासाथ कार्यक्षेत्रमा क्रियाशिल हुन केसीले अपेक्षा गर्नुभएको छ । सङ्गठन सुदृढिकरणका लागि योजना प्रस्तुत गर्नुहुँदै उहाँले सशस्त्र प्रहरी बल नेपालको जनशक्तिको समयसापेक्ष र वैज्ञानिक ढङ्गले परिचालन, प्रभावकारी सीमा सुरक्षा व्यवस्थापन, आवश्यकता अनुसार ऐन नियम तथा निर्देशिका परिमार्जन, सङ्गठन व्यवस्थापनमा लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।
१८ दिनपछि को बन्ला नयाँ आइजी…?
अबको १८ दिनपछि एआइजी पद रिक्त हुने भएकाले हाल रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट ससस्त्रको १२औँ आइजीपी नियुक्त गरिने छ । हाल एआइजीको दुई सिट मध्ये एउटा खाली छ । गृहमन्त्रालयको बढुवा समितिले २०७८ चैत ३० गते बुधबार नै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको पदोन्नतिका प्रयोजनार्थ प्राप्त गरेको शैक्षिक योग्यतालगायत आवश्यक प्रमाणपत्र पेश गर्न तीन दिनको समयसीमा दिइसकेको छ ।
आइजीको फूली लगाए कै दिन केसीले बुढुवा समितिका सदस्यसचिवको हैसियतले दावी पेश गर्न सूचनामार्फत डीआइजीलाई आग्रह गर्नुभएको छ । डीआइजीकाे वरीयतामा चाहिं अगाडि रहनुभएका हालका डीआइजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतममध्येबाट एक जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुने र उहाँ नै भावी आइजीपी हुने देखिन्छ । त्यसैले अहिलेको बढुवा प्रक्रियालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विदुर खड्काका अनुसार अर्याल एक नम्बरमा हुनुहुन्छ भने पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा हुनुहुन्छ । अर्याल र पौडेल नेपाल प्रहरीबाट र गौतम नेपाली सेनाबाट सशस्त्रमा आउनुभएको हो ।(रासस)



















