काठमाडौं – नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघको महाधिवेशन आगामी भदौ १९ र २० गते त्रिभुवन विश्वविद्यालयमा हुने भएको छ । “आफ्नै देशको उत्पादन हाम्रो शान, कृषिमा उत्पादन हाम्रो अभियान” भन्ने मूल नारासहित हुन लागेको यो महाधिवेशन लामो समयपछि आयोजना हुने भएकाले यसको सरगर्मी ह्वात्तै बढेको छ ।
महाधिवेशनमा देशभरिबाट किसानका प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको छ । नेपाली किसानहरूको अधिकारलाई स्थापित गर्ने उद्देश्यले हुने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ। यस कारणले पनि यसपटकको महाधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।
नेतृत्व चयनमा अहिले विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्दै आएका छन् । वर्तमान अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले पुनः अध्यक्ष पदमा दाबी गरेका छन् । तिमल्सिना विगतदेखि नै किसानको आन्दोलनमा सक्रिय भई नेतृत्व गर्दै आएका कारण उनको उम्मेदवारीलाई बलियो मानिएको छ ।
त्यसैगरी, अन्य पदमा पनि उम्मेदवारी घोषणा हुने क्रम चलिरहेको छ । युवा नेता तथा निवर्तमान केन्द्रीय सदस्य सुमन तिवारीले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, काठमाडौं गोकर्णेश्वर निवासी रवि कुमार पण्डितले सह–महामन्त्री पदमा दाबी गरेका छन् ।
यस्तै केन्द्रिय सदस्यमा शान्ति बस्नेतले पनि आफ्नो उम्मेदवार घोषणा गरेकी छिन् । अझै थप उम्मेदवार घोषणाको क्रम जारी रहेको बताइएका कारण, नेपाल किसान महासंघको महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धा चर्किने देखिएको छ ।























