काभ्रे– काभ्रेपलाञ्चोकको डाँडापारि स्थित खानीखोला गाउँपालिका वडा नं. ३ र ४ को सिमाना डाँडागाउँमा तामाङ समुदायको सांस्कृतिक बाजा डम्फुको आविस्कारक पेङ दोर्जेको प्रतिमा सहित डम्फु पार्क निर्माण सम्पन्न भएको छ ।
तामाङ समुदायको पहिचानलाई सुरक्षित राख्दै नयाँ पुस्तालाई सांस्कृतिक बोध गराउने उद्देश्यले स्तम्भ निर्माण गरिएको खानीखोला गाउपालिका वडा नंं ३ का वडाध्यक्ष सागर जिम्बाले बताउनु भएको छ । वडाअध्यक्ष जिम्बाका अनुसार “हामीले संस्कृति जोगाउने मात्र होइन, पर्यटकलाई पनि आकर्षित गर्ने हेतुले स्तम्भ निर्माण गरेका हौं ।”
साथै वडाअध्यक्ष जिम्बाले यतिबेला तामाङ संस्कार र संस्कृतिका विज्ञहरुले पेङ दोर्जेको प्रतिमाको आकृति/तस्बिर कोर्दै गरेको जानकारी गराउदै उक्त तस्बिर सार्वजानिक भएपछि अहिलेको यो पेङदोर्जेको प्रतिमालाई परिमार्जन गरिने बताउनु भएको छ ।
यो स्तम्भले स्थानीय सांस्कृतिक चिनारीलाई प्रवर्द्धन गर्दै पर्यटन मार्फत आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । डम्फु तामाङ जातिको सांगीतिक परम्पराको मेरुदण्ड मानिन्छ । उत्सव, विवाह, र संस्कारहरूमा यसको प्रयोग गरिन्छ । यस्तो सांगीतिक सम्पदा झल्किने स्तम्भले पहिचान, सम्मान र अवसर सबै एकैसाथ ल्याएको स्थानीय लामा प्रमुख सानु लामाले बताउनु भएको छ ।
यस स्तम्भ निर्माणले एका तर्फ संस्कृति बचाउने प्रयासलाई बलियो बनाएको छ भने अर्का तर्फ पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै सामुदायिक सहभागितालाई समेत प्रेरणा दिएको छ ।
संघिय सरकारको आर्थिक सहयोगमा करिब डेढ रोपनी क्षेत्रफलमा सो पार्क निर्माण गरिएको हो ।



















