काठमाडौं – आमाका नामबाट नागरिकता लिन सकिने व्यवस्था गरिएको विधेयक प्रतिनिधिसभाले शनिबार पारित गरेको छ ।
विधायिकी प्रक्रियामा प्रवेश गरेको पाँच महिनामा सङ्घीय संसद्को तल्लो सदनले विधेयक पारित गरेको हो । अब विधेयक राष्ट्रिय सभामा पठाइने छ । दुवै सदनबाट पारित र प्रमाणित भएपछि प्रमाणीकरणको प्रक्रियामा जाने छ ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको शनिबारको बैठकमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभाले बहुमत सदस्यको समर्थनबाट विधेयक पारित गरेको हो ।
त्यसअघि नागरिकता विधेयकको दफाबार छलफलमा गृहमन्त्री बालकृष्ण खाणले सांसदले दर्ता गराएका मध्येबाट केही संशोधन सरकारले स्वीकार गर्ने जानकारी दिएका थिए ।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकता विहीन हुनुपर्ने अवस्था अव नरहने बताए। नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको उनले बताए। उनले गैरआवासीय नागरिकलाई नागरिकता प्रदान गर्ने सम्बन्धमा छुट्टै कानुन बनाइने उल्लेख गरे ।
संविधानले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरे पनि कानुन अभाव भएको भन्दै लामो समयदेखि कार्यान्वयनमा आएको थिएन । विधेयक प्रमाणीकरण भएपछि आमाको नामबाट पनि नागरिकता दिने बाटो खुल्ने छ । यस्तै बुवाको मृत्यु भएको, पत्ता नलागेको वा नागरिकताका लागि सहयोग नगरेमा पनि आमाकै नामबाट नागरिकता लिन पाउने व्यवस्थ समेटिएको छ ।
आमा वा बुवाले जन्मका आधारमा नागरिकता पाएको तर आमा वा बुवामध्ये एक सम्पर्कमा नरहेको अवस्थामा पनि सन्तानले नागरिकता पाउने बाटो खुल्ने छ । वैदेशिक रोजगारमा गएका र बच्चाको जन्म दिएर सन्तानसँगै नेपाल फर्केका नागरिकका सन्तानलाई पनि अङ्गीकृत नागरिकता प्रदानको व्यवस्था गरिएको छ । आमा वा बुवा एक जना नागरिक भएको र सन्तानले कस्तो नागरिकता पाउने भन्ने निक्र्यौल नभएको अवस्थामा बालिग नहुँदासम्म नाबालक परिचयपत्र जारीको व्यवस्था पनि विधेयकमा गरिएको छ ।