काठमाडौं – सत्तारूढ कांग्रेसका दुवै जना महामन्त्रीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको विरोध गरेका छन् ।
सोमबार साँझको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरेको हो ।
त्यसलगत्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेख्दै कुलमान हटाउने निर्णयको विरोध गरेका हुन् ।
सामाजिक सञ्जालमा असन्तोष प्रकट गर्दै महामन्त्री थापाले आम नागरिकमा देखिएको असन्तुष्टिमा सरकारले मट्टितेल थप्ने काम गरेको बताएका हुन् । उनले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्न नसकेको समेत उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा लेखेका छन्, ‘आमनागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ । यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊँ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकार चाहिँ आफै असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?’
यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन् ।
शर्माले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको थियो। कारबाही योग्य केही भए पछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो। सरकारको यो निर्णय समायोचित बिल्कुलै भएन। यसप्रति खुला र प्रस्ट रूपमा विमति छ।’