काभ्रे – खानीखोला गाउँपालिका वडा नं. ३ मा चट्याङबाट हुने जोखिम न्युनिकरणका कार्यको सुरुवात भएको छ ।
खानीखोला गाउँपालिका सरकारको आयोजनामा सम्पन्न भएको कार्यक्रममा वडा नं. ३ का वडाअध्यक्ष सागर जिम्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रम उद्घाटन गर्दै वडाअध्यक्ष जिम्बाले प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न वा नियन्त्रण गर्न नसकिने भए पनि सावधानी भने अपनाउन सकिने बताउनु भएको छ । साथै वर्षायाम सुरु भएसँगै चट्याङको जोखिम उच्च हुने र चट्याङबाट हुने क्षति दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थामा यसबाट कसरी सुरक्षित भइ जोखिम न्युनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भएको हो ।
आर्थिक वर्ष २०८१/०८२ खानीखोला गाउँपालिकाबाट विनियोजन गरिएको ३ लाख २० हजार बजेटमा खानीखोला गाउँपालिका वडा नं. ३ को छुट्टाछुट्टै ६ स्थान (धनमान,बाङ्गे,जुरे,सौरे,भाङटार र चित्रे) मा लाइटिङ एरेष्टर जडान गरिने वडाअध्यक्ष जिम्बाले जानकारी दिनुभएको हो ।
सो क्षेत्रमा हरेक वर्ष चट्याङले जनधनको क्षति पुर्याउने गरेकाले समाधानको विकल्पमा प्रतिरोधात्मक उपकरण जडान गरिएको हो । जडान गरिएको उपकरणले करिब ८० प्रतिशत चट्याङलाई निष्क्रिय पार्ने दावी गरिएको छ । ‘यो क्षेत्रमा हरेक वर्ष चट्याङ पर्छ, धेरै मानविय क्षतिको साथै जनधनको क्षति भइरहेको छ, पशुचौपाय उत्तिकै मर्ने गरेको छ’, वडाअध्यक्ष जिम्बाले भने, ‘यो समस्यालाई कम गर्न लाइटिङ एरेष्टर राखिएको हो ।’
चट्याङ प्रभावित क्षेत्रका रुपमा रहेको ३ नं. वडामा हरेक वर्ष मान्छे र पशुचौपाया मर्ने गरेको छ । लाइटिङ एरेष्टर राखेपछि चट्याङको जोखिम टरेको भन्दै स्थानीय उत्साहित छन् ।
उदघाटन कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्नको लागि स्थानिय समाजसेवी,बुद्धिजिबि, विभिन्न पार्टीसँग आबद्ध नेतागन, निर्वाचित जनप्रतिनिधिहरु तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।
वायुमण्डलका कुनै दुई भाग (बादलभित्रै वा बादल र जमिनबीच) हुने विद्युतीय असन्तुलनका कारण एक भागदेखि अर्काे भागसम्म बहने विद्युतीय चार्ज (करेन्ट) को मात्रा (परिमाण) औसतमा तीस हजार एम्पियर हुन्छ । यसका कारण वायुमण्डलका विविध ग्यासको तापक्रम तीस हजार डिग्रीसम्म पुग्छ ।
त्यसपछि निस्कने आवाजलाई चट्याङ भनिन्छ । अत्यधिक मात्राको करेन्ट र तापक्रमका कारण भौतिक क्षति हुने गर्छ ।