काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा भीषण आगलागी भएको छ । हिजो (मंगलबार) दिउँसो २ बाट लागेको आगो तत्काल निभाउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोको अनुसार सामुदायिक वनको भिरमा आगो लागेकोले तत्काल निभाउन सकिने अवस्था नरहेको हो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले हिजो बेलुकी त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीको टोलीले स्थानीयवासीसँग समन्वय गरी आगो निभाउने पहल गरिरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरक्षाकर्मीलाई आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले आगो निभाउनका लागि एक टोली त्यसतर्फ पठाइएको बताउनुभयो । उहाँका अनुसार वनमा आगो फैलिरहेकाले नियन्त्रणका लागि आज प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ ।
आगो निभाउनका लागि अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
आगलागी भएको ठाउँबाट मानवबस्ती झन्डै ३ किलोमिटरको दूरीमा रहेको छ । प्रहरीले आगलागीबाट अहिलेसम्म कुनै मानवीय एवम् पशुचौपायामा क्षति नपुगेको जनाएको छ ।