काभ्रे – गत साताको आएको बाढी र पहिरोले काभ्रेको बेथानचोक गाउँपालिकामा ठूलो धनजनको क्षति गरेको छ । काभ्रेको १३ वटा स्थानीय तहमध्ये बेथानचोक गाउँपालिकामा धेरै जनधनको क्षति भएको छ ।
लगातारको वर्षापछि आएको बाढीपहिरोले गाउँपालिकाको भवन र त्यस वरपरको संरचना ध्वस्त बनाएको छ । गाउँपालिकाको भवनमा मात्र करोडौं रुपैयाँको क्षति भएको छ ।
भवनको भौतिक संरचना मात्रै नभएर भित्र रहेका महत्त्वपूर्ण कागजात, उपकरण, र कार्यालय सामग्रीहरू पनि नष्ट भएका छन्, जसले स्थानीय प्रशासनिक कामकाजमा ठूला चुनौतीहरू निम्त्याएको छ ।
बेथानचोक गाउँपालिकामा रहेका अन्य सरकारी कार्यालयहरू, विद्यालयहरू, स्वास्थ्य चौकीहरू लगायतका सार्वजनिक सेवाका क्षेत्रहरूमा पनि ठूलो प्रभाव परेको छ। पहिरोले सडक यातायातमा बाधा पुर्याएको छ, जसका कारण राहत र उद्धार कार्यमा समेत कठिनाइ भएको छ। सञ्चार सेवा अवरुद्ध हुनुका साथै बिजुली आपूर्तिमा समेत समस्या उत्पन्न भएको छ ।
स्थानीय जनप्रतिनिधिहरू र राहतकर्मीहरूले घटनाको गम्भीरता बुझ्दै उद्धार कार्यमा लागिपरेका छन् । विपद् व्यवस्थापन टोली, सुरक्षा निकाय, र स्वयंसेवकहरूको सहकार्यमा उद्दार तथा राहत वितरण गरिदैछ ।
स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ, तर अझै पनि धेरै प्रभावित क्षेत्रहरूमा उद्धार पुग्न नसकेको बताइएको छ । प्रभावितहरु भने सुरक्षित बासस्थान खोज्दै हिंडिरहेका छन् । गाउँमा बस्ने बासस्थान नै नभएपछि आफन्त खोज्दै, कोठा खोज्दै हिंडेको उनीहरु बताउँछन् ।
गाउँपालिकामा बाढी र पहिरोले अरबौंको क्षति भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । उहाँका अनुसार, अहिले यहाँ बाटो, बिजुली, सञ्चार लगायतका पूर्वाधारका सेवामा अवरुद्ध भएको छ ।
गाउँपालिकाले पूर्वाधारमा पहिले सडक सञ्जाल विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । पालिकाको विभिन्न स्थानमा २० जटा डोजर लगाएर नयाँ ट्रयाक खोलेर बाटो बनाउने काम भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
बेथानचोक गाउँपालिकाभित्र विभिन्न स्थानमा रहेका भौतिक संरचना पनि ठूलो क्षति भएको छ । पालिकाको आफ्नो भवन र विभिन्न स्थानमा रहेका क्रसर तथा खानी उद्योगमा पनि क्षति भएको छ ।