काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका सरकार अविरल वर्षातसँगै गएको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगि नागरिकको दु :खमा मल्हम लगाउने थालेको छ ।
प्राकृतिक प्रकोपकै बीच खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ टोली सहित उद्धारमा सक्रिय थिए । उद्धार लगतै खानीखोला सरकारले पीडितलाई राहत उपलब्ध गराएको हो ।
वडा नं. ५ र ६ का पीडितलाई त्रिपाल, चामल, ब्लांकेट, सुत्ने म्याड, एक सेट भाँडाकुडा, दाल ५ केजी, नुन लगायतका आधारभूत सामग्री शनिबार नै हस्तान्तरण गरेका छन् ।
अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ मा आठ घर बगाएको छ । वडा नं ६ स्थित बागमती खोला किनार नजिक रहेका घर बाढीले बगाएको हो ।
स्थानीय धनबहादुर लामाले बाढीले नयाँ बस्तीका फुलबहादुर रुम्बा, हस्तबहादुर सिङ्तान, बुद्धि सिङ्तान, प्रकाश सिङ्तान, साजन सिङ्तान, देवराज सिङ्तान, विक्रम सिङ्तान र उत्तरमान गोलेको घर बगाएको जानकारी दिए। उक्त बाढीमा एकजना महिला बेपत्ता भएकी छिन् ।
बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी काभ्रेमा ३१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म ३१ जनाको ज्यान गएको छ । विपद्का घटनामा परी १९ जना बेपत्ता छन् भने ४२ जना घाइते भएका छन् ।
काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकोप्टरले उद्धार कार्य जारी राखेको छ । विपदको जोखिममा रहेका रोशी, पनौती, तेमाल, बेथानचोकका नागरिकहरुको उद्धारमा सेनाले लगातार हवाइ उद्धार गरिरहेको छ। हेलिकोप्टरबाट ९४ जनाको उद्धार गरिएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध विपी राजमार्ग र अरनिको राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको छ । यद्यपी तत्कालै राजमार्ग सुचारु हुने सम्भावना कम देखिएको छ । फोटो : डि.बि लामाको फेसबुकबाट



















