शिलान्यासको ९ वर्ष पछि वी.पी. कोईरालाको शालिक अनावरण !

काभ्रे – शिलान्यासको ९ वर्ष पछि विशेश्वर प्रसाद कोईरालाको शालिक धुलिखेलमा अनावरण गरिएको छ ।

वीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको पार्टी सभापति समेत रहेका पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एक कार्यक्रमका साथ शालिक अनावरण गरिएको छ ।

ढलौटबाट बनेको पूर्ण कदको प्रतिमाको लागत १५ लाख रुपैयाँ रहेको महामानव वी.पी. कोइराला प्रतिमा निर्माण मूल समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं धुलिखेल नगर पूर्व सभापति जितकृष्ण श्रेष्ठले जानकारी दिए ।

२०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेका थिए । १२ औं र १३ औं महाधिवेशनमा नगर सभापति निर्वाचित भएका श्रेष्ठको संयोजकत्वमा काम बढेपनि आर्थिक श्रोत जुट्न नसक्दा पुरा भएको थिएन । १४ औं महाधिवेशनबाट निर्वाचित नगर सभापति विदुर बहादुर बस्नेत नेतृत्वले पनि श्रेष्ठकै संयोकत्वमा समिति गठन गरेपछि कामले गति लिएको हो । जिल्ला सभापति तीर्थ लामा नेतृत्वको कार्यसमितिले श्रोत सुनिश्चित गरेर पदलकदमी लिएपछि निर्माण लगायतका कार्य अघि बढेका थिए ।

शालिक अनावरण पछि आयोजित कार्यक्रममा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा नेपाली काँग्रेस प्रतिपस्र्धी पार्टी नेकपा एमालेसँग सहमतिको सरकार गठन गरिएको बताए ।

‘काँग्रेस र एमालेको सरकार गठन गरे पछि साना साना दलहरुको चहलपहल सकिएको छ’– सभापति देउवाले भने–‘नेपाली काँग्रेसले मुलुकको विकासका लागि सबै दलसँग समन्वय र सहकार्य गर्नेछ ।’ कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विशेश्वर प्रसाद कोईरालाका छोरा शशांक कोईरालाले काँग्रेस भित्रको एकता कायम राख्न सके मुलुक निर्माणका लागि काँग्रेस पहिलो शक्ति हुने बताएका थिए ।

अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं वी.पी. पुत्र शसांक कोइराला, केन्द्रीय सदस्यहरु मोहन बहादुर बस्नेत, शिवप्रसाद हुमागाई, उमेश श्रेष्ठ, मधु आचार्य, गणेश लामा, जिल्ला सभापति तीर्थ लामा लगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...