काभ्रे – पनौती नगरपालिका वडा नम्बर ४ मा २५ जनालाई सामुदायिक विपद व्यवस्थापन प्रतिकार्य तालिम दिइएको छ ।
पनौती नगरपालिका वडा नम्बर ४ को आयोजना र श्री कालीजंग गण धुलिखेलको सहकार्यमा तालिम दिइएको हो । भाद्र १६ गतेदेखि सुरु भएको तालिम आज एक औपचारिक कार्यक्रमकाबीच समापन गरिएको छ ।
समापन कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गिता बञ्जारा, वडा अध्यक्ष दिपक दाहाल, कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्य सविता थापा, कुमार बस्नेत, प्रकाश बञ्जारा, वडा सचिव कृष्णकाजी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कालिजंग गणका सेनानी बिष्णुभक्त श्रेष्ठ, कालिजंग गणका चलबहादुर महतो, ज्योति अधिकारी, रोशन कटुवाल, रामकुमार चौधरी, सुरेश वि.क, हरि बहादुर कुँवरले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षकलाई प्रशंसापत्रद्धारा सम्मान गरिएको छ । ४ दिनसम्म सञ्चालन भएको तालिममा विपद् न्यूनिकरण, विपद्बाट जोगिने उपाय लगायतका विविध विषयमा जानकारी गराइएको थियो ।
वडास्तरमा नै दिइएको तालिमले जनस्तरमा जनचेतना अभिवृद्धि तथा जोखिम न्यूनिकरणमा महत्वपुर्ण हुने विश्वास लिइएको थियो । कार्यक्रम सञ्चालन बालमैत्री सहजकर्ता ललिता धितालले गरेकी थिइन् ।