काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आज झालाई पुर्पपक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको असार १४ गते पक्राउ परेका झाविरुद्ध सरकारी वकिल कार्यालयले गएको साउन २९ गते ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले झाको संलग्नता रहेको देखाएपछि प्रहरीले खोजी गरेको थियो ।
पर्साको वीरगन्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो । झासमेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।
बेचनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको माग गरिएको छ ।
यही कसुरमा गतवर्ष पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डेसहितका ८ प्रतिवादीहरु पुर्पक्षका लागि थुनामै छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अधिकांस प्रतिवादीहरु भने उच्च अदालत र सर्वोच्च अदालतबाट रिहा भएका छन् ।



















