काठमाडौं – काभ्रेको खानीखोला गाउँपालिकामा नायब सुब्बा पदमा कार्यरत रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१० का बमबहादुर विकले युरोप महादेशको रुसमा रहेको एल्ब्रुस हिमालको सफल आरोहण गरेका छन् ।
सात महादेशका उच्च हिमाल चढ्ने क्रममा उनले एल्ब्रुस हिमालको आरोहण गरेका हुन् । यो हिमाल आरोहण गर्ने उनी पहिलो निजामती कर्मचारी समेत हुन् । उनले केही समयअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत आरोहरण गरेका थिए ।
८ अगस्तका दिन स्थानीय समय अुनसार बिहान ७ः११ बजेको समयमा एल्ब्रुस हिमालमा उनले नेपालको झण्डा फहराए । उक्त हिमाल पाँच हजार ६४२ मिटरको उचाईमा रहेको छ । आरोही बमबहादुरले ‘हामी पनि सक्छौँ’ भन्ने मूल उद्धेश्यका साथ हिमाल चढेको बताए ।
यसका साथै उनले दक्षिण अमेरिकाको सबैभन्दा उच्च शिखर एकान्कागुवा सन् २०२४ फ्रेबुअरी १५ मा सफल आरोहण गरेका छन् । त्यसैगरी अफ्रिका महादेशको सबैभन्दा उच्च शिखर किलिमन्जरो सन् २०२३ सेप्टेम्बर २७ मा सफल आरोहण गरेका थिए ।
उनी यी दुबै हिमाल (एकान्कागुवा र किलिमन्जरो) आरोहण गर्ने नेपालको पहिलो निजामती कर्मचारी समेत हुन् । उनले नेपालको किलर माउण्टेनको रुपमा परिचित मनास्लु हिमाल २०७६ असोज ६ गते आरोहण गरेका थिए । त्यस्तै उनले लोबुचे पिक हिमालको २०७८ बैशाख ११ गते सफल आरोहण गरिसका छन् ।
हिमालबाटै समानताको सन्देश
आरोही बमबहादुरले ‘सबै मानव समान हुन्, विभेदको गरिनु हुँदैन’ भन्ने सन्देश दिन आफू हिमाल चढ्ने अभियानमा रहेको बताए । उच्च शिखर आरोहण कार्यलाई समानताको सन्देशको माध्याम बनाउन चाहेको उनको भनाई छ । सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक रूपमा पछाडि परेको वा पारिएको समुदायको एक पात्रको रूपमा आफ्नो प्रतिनिधित्व उच्च शिखरमा रहेको समेत उनले बताए ।
बमबहादुरले संविधानले नै जातीय रूपमा छुवाछुतलाई जघन्य अपराधको रूपमा स्वीकार गरेको परिप्रेक्ष्यमा सबै धर्म, जातजाति, वर्ग, लिङ्ग तथा समुदाय समान हुन भन्ने सन्देश दिन हिमाल पुगेको बताए ।
उनले भने, ‘धेरै ठाउँमा परिचय गर्ने बेला मैले विक थर बताएपछि विभेद भोगेको छु, त्यसलाई सात महादेशका उच्च हिमालहरु आरोहण गरेर जातीय छुवाछुत तथा भेदभाव विरुद्ध सन्देश दिने सोच बनाएर हिमाल आरोहण गरेका छु’ उनले भने । तस्वीरः बिकको फेसबुकबाट