काठमाडौं – डलरको भाउले निरन्तर तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ । अस्ति मङ्गलवार रेकर्ड बनाएको डलरको भाउले हिजो त्यो रेकर्डलाई तोडेको थियो भने आज फेरि डलरको भाउले हिजोको रेकर्ड तोडेको छ ।
नेपाल राष्ट्र बैंकले आजको लागि डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा तोकेको छ । हिजो बुधवार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो । हिजोको तुलनामा आज डलरको भाउ १ पैसा बढेर नयाँ रेकर्ड बनाएको हो ।
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ कमजोर भएको हो । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेकाले भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर हुने गर्छ ।
डलरको भाउ महँगाे हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई केही फाइदा हुन्छ । तर नेपालको आयातको हिस्सा धेरै भएकोले डलर महँगिदा बेफाइदा बढी हुन्छ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगाे हुँदा बढी रकम तिर्नुपर्छ ।
यस्तै एक युरोको बिक्रीदर मूल्य १४७ रुपैयाँ ५ पैसा पुगेको छ भने बेलायती पाउण्डस्टिर्लिङको १७१ रुपैयाँ ४४ पैसा छ । एक अस्ट्रेलियन डलरको बिक्रीदर मूल्य ८८ रुपैयाँ ४९ पैसा तथा क्यानेडियन डलरको ९७ रुपैयाँ ९७ पैसा छ ।
बिहीबार राष्ट्र बैंकले एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८६ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ७० पैसा तोकेको छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ९२ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ४९ पैसा तोकिएको छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २९ रुपैयाँ ९४ पैसा तथा खरिददर मूल्य २९ रुपैयाँ ८१ पैसा छ ।