काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूलाई आइतबार साँझ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६ मा पुग्दा दुर्व्यवहार भएको बताएकी छन् ।
सोमबार प्रतिनिधि सभामा बोल्दै उनले निर्वाचन क्षेत्रको अवलोकनका लागि जाँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको बताएकी हुन् ।
उनले अहिले दुर्व्यवहार गरिएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको बताएकी छन् । सोविताले ती युवाहरू कुन दलका थिए भन्ने खुलाएकी छैनन् । सोविता राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ की सांसद हुन् ।
सांसद गौतमले घटना विवरण यसरी सुनाइन् –
आइतबार साँझ म आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बाढी पहिरो अवलोकन गर्न जाँदै थिएँ । त्यसक्रममा कागेश्वरी मनहरा ६ मा रहेको मनकामना टोलमा पुगेँ । मुलपानी क्रिकेट स्टेडियमबाट अपोजिट साइडमा रहेको डाँडातिर एउटा मन्दिरजस्तो छ ।
त्यो मन्दिरको मुनितिर एउटा घर र चिया पसल छ । त्यो कटेपछि गाउँ समाज छ । म त्यहाँ जाँदै सुरुमा मलाई पहिरो देखाउन केही स्थानीयहरू चिया पसलमा कुरेर बस्नुभएको थियो ।
त्यसपछि हामी त्यो पहिरो भएको ठाउँमा पुग्यौ । र, त्यहाँबाट फर्केर आउने क्रममा त्यो चिया पसलमा १५,२० जना मानिस जम्मा भइसक्नुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्थेन ।
उहाँहरू कोही गाँजाको नसामा लट्ठ र कोही रक्सीले मात्तिएको अनि कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । म त्यहाँ आइपुग्दा एकाएक उहाँहरूले घेर्न थाल्नुभयो र तपाई बुढो मान्छे भएको ठाउँमा मात्र जाने ? भन्दै प्रश्न गरियो । र चक्रव्यूह रचियो, घेरियो अनि मुख छाडियो ।
मैले कुरा राख्नुस् भनेर निवेदन गर्दै थिएँ तर ‘तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्दहरू प्रयोग गरेर आक्षेप लगाउने काम भयो । त्यसपछि मलाई अलि चुनौती फिल भएर चिया पसलतर्फ गएँ तर कतिले भिडियो उतार्नुभयो । मलाई दुर्व्यवहार गर्ने शैलीमा । त्यसपछि मेरो स्वकीय सचिवले बौद्धको डीएसपीलाई घटनाबारे जानकारी पनि गराउनुभएको छ । तर घर गएपछि भिडियो हेर्दा मेरो मात्र भिडियो पोस्ट गरिएको रहेछ ।
त्यो व्यक्तिको प्रोफाइल हेर्दा कुनै एउटा राष्ट्रिय दलको सङ्गठनको साथी भएको पाइयो । विवादमा पार्ने हिसाबले एउटी महिलालाई यसरी बाटो ढुकेर यस्तो व्यवहार गर्ने हो भने अब म आफ्नो निर्वाचन क्षेत्रमा जाँदा पनि चौतारो हेर्दै हिँड्नुपर्ने हो ? सरकारले सुरक्षा चुनौतीका बारेमा सोच्ने कि नसोच्ने ? यस्ता गम्भीर विषयलाई सरकारले ध्यान दिन जरुरी छ ।
यस्तो छ सोविता र युवा बिच भएको सवाल जवाफ :
सोविता : म गएर कुरा गर्छु
युवा : तपाईं गएर आउनेसम्म कुर्नुपर्ने हामीले, तपाईंलाई माथि कसले पुर्याएको ?
सोविता : तपाईं एकछिन पख्नुस् म बोल्छु पहिले
यसैबीच भिडियो लिइरहेका युवातिर स्वकीय सचिव आउछिन र भिडियो नखिच्न भन्छिन् ।
युवा : अगाडि न जितुन्जेल हाम्रो लागि आउने भन्ने
अर्का युवा : होइन नि हामीले त नेतालाई पो गाली गरेको त, उहाँलाई होइन नि
अर्का युवा : त्यसो भए हामी केही बोल्दैनौँ, झन्डा बोकेर मात्रै हिँड्छौँ
अर्का युवक : हामी भोट मात्रै माग्न हिँडिदिन्छौँ (नमस्कार गर्दै)
सोविता : यस्तो कुराले देश बन्दै न क्या
युवा : पहिले गाउँ घर बनाउनु पर्यो हाम्रो ठाउँ बनाउनुपर्यो ।
युवा : तपाईंले त नम्र भएर बोल्नुपर्यो नि
सोविता : त्यो होइन गाउँ बनाउन घर बनाउन तपाईं हामी त बस्नुपर्यो
युवा : मूल कुरा पहिले त हामी राम्रो हुनुपर्यो नि
सोविता: तपाईंले यही अपेक्षा गलत गर्नु हुन्छ, तपाईंले ढुंगा हाने त मलाई नि लाग्छ नि । तपाईंहरूले मिठो बोल्नुपर्यो ।
युवा : मिठो बोलेर काम भएन नि, मिठो बोल्ने भए त केपीको समर्थन गरिजान्थ्यौँ नि, रेल ल्याउँछु भन्छन् के ल्याउँछु भन्छन् ।
अर्का युवा : हामीले तपाईंलाई भेट्न खोजेको हो नि !
सोविता : तपाईंहरूलाई शुभकामना छ साथीहरू, राम्रो गर्नु भयो (यति भनेर बाटो लाग्छिन्)
एकजना युवा : कतिजनालाई रोजगारी दिनु भयो म्याम तपाईं सांसद भएदेखि ?
सोविता : रोजगारी मैले…..
सोविताकी स्वकीय : तपाईंहरू अफिसमा आउनुस् न ।
भिडियो हेर्न यहाँ थिच्नुहोस