काठमाडौं – काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि जित निकालेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले भारतमाथि ३-२ को सेटमा जित निकालेको हो ।
पहिलो खेलमा श्रीलंकालाई हराएको नेपालको यो लगातार दोस्रो जित हो । खेलमा नेपालले पहिलो सेट २५-१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५-१२ ले जितेसँगै खेल १-१ को स्थितिमा आयो। तेस्रो सेटमा नेपालले २५- १७ ले जित्यो भने चौथो सेटमा भारत २५-१८ ले विजयी भयो।
निर्णायक पाँचौ सेट १५-१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो । अब नेपालले तेस्रो खेलमा आइतबार इरानसँग खेल्नेछ ।
नेपाल, इरान, श्रीलंका, भारत र माल्दिभ्स गरी पाँच टोली सुरुमा एकआपासमा भिड्नेछन् । प्रत्येक दिन दुई खेल हुनेछ। सेमिफाइनल अगस्ट ६ र फाइनल खेल अगस्ट ७ मा हुनेछ ।
लिग चरणमा पुछारको पाँचौं स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ । शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन् ।
अगस्ट ६ मा लिगको शीर्ष स्थानको टोली र चौथो स्थानमा रहने टोलीबीच तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनल हुनेछ ।