काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानी प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेट गरेको छ ।
शीतल निवासमा आज भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।
उनले सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको भन्दै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे ।
नेपालमा जापानको निःसर्त र निःस्वार्थ सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतमबुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले जोडिएको पनि बताए । नेपाल-जापानबीचको जनस्तरमा समेत सम्बन्ध सुदृढ रहेको उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्दामा समेत अन्तर्राष्ट्रिय मञ्चमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको भन्दै खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
नेपाली विद्यार्थीहरुले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकामा उनले सन्तोष प्रकट गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
त्यस अवसरमा जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरुले नेपालमा लगानी गर्न चाहेकाले ती कम्पनीलाई लगानी गर्न सहज वातावरण बनाउन राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका छन् ।
जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमा प्रविधि सिकेर नेपाल नै फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुसी लागेको उल्लेख गर्दै उनीहरुले नेपाल सरकारले त्यस्तो प्रविधि सिकेकालाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउन सुझाव दिए ।