काभ्रे – अन्तराष्ट्रिय कथा वाचिका प्रतिभा पराजुली (श्री देवी प्रतिभा)लाई गृह जिल्ला काभ्रेको पनाैती नगरपालिकामा भव्य स्वागत र सम्मान गरिएको छ ।
श्रीमद् भागवत् कथा प्रवचन लगायतका अध्यात्मिक गतिविधि मार्फत नेपाललाई चिनाएको भन्दै उनको जन्म जिल्ला काभ्रेको पनौतीमा शनिबार काभ्रे सेवा समाज र पनाैती नगरपालिकाले आयाेजित एक कार्यक्रमका बीच स्वागत र सम्मान गरेका हुन् ।
उनलाई काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, पनाैती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा लगायत सयाैंकाे संख्यामा उपस्थित भक्तजनहरुले स्वागत गरेका थिए । प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थलहरुको परिक्रमा तथा प्रसिद्ध त्रिवेणीधाम,इन्द्रेश्वर मन्दिर मुक्तिनाथ मन्दिरको दर्शन पछि औपचारिक कार्यक्रम अयोजना गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारीले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन सफल काभ्रेकै छाेरी प्रतिभालाई पनाैतीमा सम्मान गर्न पाउनु गर्वकाे विषय भएकाे बताए । यस्तै मेयर भण्डारीले पनौतीको प्राचिन इतिहाससँगै पनौती नाम कसरी रहुयो भन्ने प्रसँग उल्लेख गर्दै लड्केश्वर, धनेश्वर फूलचोकी,लगायतका स्थालहरुले भरिएको पनौती क्षेत्रको महिमा विश्वसम्म प्रचार प्रसार गरिनुपर्ने प्रसंग उल्लेख गर्दै नेपालकी चेली देवी प्रतिभालाई पनौती क्षेत्रको प्रचारका लागि अनुरोध गरे ।
उपप्रमुख बञ्जाराले छाेरीले पनि अवसर पाए देशकाे नाम उच्च राख्छन् भन्ने उदाहरण देवी प्रतिभा बनेकाे बताउँदै यस्ता व्यक्तिहरुलाई राज्यले सम्मान गर्नु पर्ने बताइन् । काभ्रे सेवा समाजका अध्यक्ष केसीले देवी प्रतिभाले सानै उमेरमा जुन काम गरेकी छिन्, याे सामान्य नभएकाे र उनलाई संस्थाले सम्मान गर्न पाउँदा खुशी लागेकाे बताए ।
सम्मान ग्रहण गर्दै देवी प्रतिभाले आफू संसारका जुनसुकै ठाउँमा पुगेपनि आफ्नाे संस्कार, आफू जन्मिएकाे ठाउँ, आफ्ना समस्त नेपाली दाजुभाइलाई कहिल्यै नबिर्सने बताइन् । आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा अत्यन्तै खुशी लागेकाे बताउँदै उनले पनाैतीकाे धार्मिक महत्वका बारेमा देशविदेशका ठाउँमा प्रचारप्रसार गर्ने पनि बताइन् ।