कुलमानलाई ट्रेड युनियनको चेतावनी : बक्यौता नउठाई उद्योगमा लाइन जोडे आन्दोलन गर्छौँ !

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका ट्रेड युनियनहरुले उद्योगीहरुसँग डेडिकेटेड र ट्रंकलाइनबाट प्रयोग गरेको बिजुलीको महशुल नउठाई बिजुली नजोड्न चेतावनी दिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै उनीहरुले बक्यौता नउठाउँदा प्राधिकरण गम्भीर वित्तीय संकटमा फस्ने भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावली, २०७८ अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिने व्यवस्था रहेकोबारे ध्यानाकर्षण गराउँदै हिसाब मिलानपछि मात्रै लाइन जोड्नुपर्ने माग गरेका हुन् ।

प्राधिकरणको भविष्य देशको विद्युत् विकासको भविष्यसँग जोडिएकोले प्राधिकरणलाई हानि नोक्सानी हुने काम कतैबाट हुन नहुने उनीहरूको भनाइ छ ।

‘नेपाल विद्युत् प्राधिकरणको भविष्य, सिंगो देशको विद्युत् विकासको भविष्यसँग जोडिएकोले प्राधिकरणलाई हानि नोक्सानी हुने काम कहीँ कतैबाट नहुने कुरामा हामी विश्वस्त छौँ’, घिसिङलाई लेखेको पत्रमा भनिएको छ, ‘डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महशुल बक्यौता रकम नियमानुसार असुलउपर गर्ने सन्दर्भमा हामी क्रियाशील ट्रेड युनियनहरु नेपाल विद्युत् प्राधिकरणलाई आईपर्ने हरेक चुनौतीको सामना गर्न सदा तत्पर रहने व्यहोरा अवगत गराउँदै प्राधिकरणको हितविपरीत कार्य भएमा आन्दोलित हुन बाध्य हुने अनुरोध गर्दछौँ ।’

उद्योगीहरूले विद्युतको लागतसमेत उत्पादित वस्तु तथा सामग्रीहरूमा समायोजन गरी बिक्री गरेको यथार्थता सबैले अनुभूति गरेको र निरन्तर विद्युत् सुविधा लिएका उद्योगीले आफूले उपयोग गरेको विद्युत्‌को महसुल नतिर्न गरिरहेको बाहनाबाजीको प्राधिकरणले सामना गरिहरेको जारी सूचनामा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...