काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन् । ८१ वर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन् ।
बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन् । उम्मेदवारीबाट पछि हटेसँगै पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उम्मेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् ।
आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै हप्ता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइडेनले आफ्नो सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
बाइडनले सामाजिक सञ्जालमा लेख्दै आफू राष्ट्रपति पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्न चाहे पनि देश र पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएर पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारीमा लगाउने बताए । अमेरिकामा चार महिनापछि राष्ट्रपति पदको चुनाव हुँदैछ ।
आउँदो राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो महिना बाइडेन र ट्रम्पबीच भएको बहसमा बाइडनको प्रदर्शन कमजोर रहेपछि डेमोक्रेटिक नेता बाइडनमाथि उम्मेदवारी फिर्ता लिन पार्टीभित्र दवाब बढेको थियो ।
डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा उपराष्ट्रपति कमला ह्यारिस अघि हुने भए पनि उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ । चुनाव आउन चार महिना बाँकी छँदा अब पार्टीले नयाँ छनोटको प्रकृया शुरु गर्नुपर्ने हुन्छ । बीबीसी