काठमाडौं – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते हुनुभएको छ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । गोली चल्दा र्यालीमा सहभागी एक जनाको ज्यान गएको छ ।
पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो ।
त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो । गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । गोली लागेपछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।
बिबिसीका अनुसार ट्रम्पले बोल्नुअघि एक जना ग्रेग नाम गरेका समर्थकले संदिग्ध पुरूष मञ्च नजिकैको घरतर्फ गएका थिए । उनले छतमा ती संदिग्धलाई राइफलसहित घिस्रिँदै गरेको देखेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
ती संदिग्धलाई घटनास्थलमा उपस्थित सुरक्षाकर्मीले गोली प्रहार गरी मारेको छ । ट्रम्पले सम्बोधन गरिरहँदा चलेको गोली लागेर र्यालीमा सहभागी एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते छन् ।
घटनापछि गुप्तचर संस्थाले ट्रम्पको सकुशल रहेको बताएको छ । गोली चलेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प सुरक्षित भएकोमा राहत महसुस गरेको बताएका छन् ।
उनले अमेरिकामा यस प्रकारको हिंसाका लागि कुनैपनि ठाउँ नरहेको बताउँदै घटनाको निन्दा गरेका छन् ।