गृह मन्त्रालयका कर्मचारी विष्ट पक्राउ, यस्तो छ कारण !

काठमाडौं- गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् ।

गृह मन्त्रालयमा कार्यरत कम्प्युटर अपरेटर विष्टलाई प्रहरीले पक्राउ गरेको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले बताए ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा राखिएको छ । विष्टले ‘गृहमन्त्री र गृहसचिवसँग कुरा भैसकेको छ’ भन्दै असार २१ मा थाइल्यान्ड जान लागेका २० जनालाई नरोक्न अध्यागमन अधिकृतलाई फोन गरेका थिए । विष्टले अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोन गरेर अनुचित दबाब दिएको आरोप छ ।

भिजिट भिसामा हिँडेका २० जना थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जिकिर गरेको छ । विष्ट २०७५ देखि कम्प्युटर अपरेटरको रूपमा गृहमा कार्यरत थिए ।

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको उक्त कुरा बाहिरिएको थियो । गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते (मंगलबार) विष्टलाई सेवाबाट हटाएका थिए ।

थमौतीका लागि गृहमन्त्रालयका लागि पुगेका उनी मन्‍त्रालयबाटै पक्राउ परेका हुन् । भिजिट भिसामा गैरकानूनी रुपमा मान्छे पठाउने काम गरिरहेको आशंकामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...