बढ्यो अण्डाको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – पछिल्लो समय माग अनुसार अण्डाको उत्पादन नहुँदा मूल्य बढ्न थालेको छ ।

नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य तोक्दै आएको छ। संघले किसान र उपभोक्ता दुवैको लागि मूल्य निर्धारण गर्छ।

अहिले न्यूनतम प्रतिक्रेट पाँच रूपैयाँदेखि २० रूपैयाँसम्म मूल्य बढाइएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।  असार ५ गते अण्डाको नयाँ मूल्य तोकेको संघले सात/दश दिनमै पुनः नयाँ मूल्य निर्धारण गरेको हो ।

उनका अनुसार हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ७०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तोकिएको छ ।

त्यस्तै, सात/दश दिनअघि किसानले मध्यम आकारको अण्डा चार सय ६५, ठूलो अण्डा चार सय ८० र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ पाएका थिए । किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ ।

हाल उपभोक्ताले आकारको आधारमा प्रतिक्रेट पाँच सय ४० रूपैयाँदेखि छ सय रूपैयाँसम्म तिर्नुपर्ने मनमैजुस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए ।

त्यस्तै, ठूलो अण्डा पाँच सय ७० देखि पाँच सय ८० रूपैयाँसम्म तिर्नुपर्छ भने एक्सेल अण्डाको मूल्य प्रतिक्रेट छ सय रूपैयाँ छ । त्यस्तै, संघले निर्धारण गरेअनुसार खुद्रा अण्डाको मूल्य भने प्रतिगोटा २२ रूपैयाँ छ ।

तर, उपभोक्ताले संघले तोकेको मूल्यभन्दा दुई रूपैयाँ सस्तोमै पाइरहेको उनी बताउँछन् । यसअघि उपभोक्ताले मध्यम आकारको अण्डा प्रतिक्रेट पाँच सय ३०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय ७० देखि ८० रूपैयाँमा पाइरहेका थिए ।

बजार माग अनुसार उत्पादन नहुँदा अझै मूल्य बढ्ने सम्भावना रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...