काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो ।
कक्षा सञ्चालनका लागि गएको शुक्रबार सहरी योजना आयोग र शिक्षा विभागले, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसँग छुट्टाछुट्टै तयारी वैठक गरेका थिए ।
सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा भन्छन्, ‘विद्यार्थीहरूलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । यी कक्षाहरु पास गराउनमा भन्दा पास गराउने वातावरण तयार गर्नका लागि सञ्चालन गरीएका हुन् ।’
उनी भन्छन्, ‘पास गराउन पाठ पढाइन्छ । पास गराउने वातावरण तयार पार्दा विद्यार्थीलाई पाठ पढाउनुका साथै सिकाइप्रति उत्साहित गरिन्छ । केही बिग्रिएको छैन भनेर प्रोत्साहित गरिन्छ ।’
यस प्रकारको वातावरण तयार पार्नका लागि विद्यार्थीहरूलाई स्वच्छ खानाको प्रबन्ध गरिएको र, १ सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको उनको भनाइ छ ।
११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्नेछन् । विद्यार्थीको अनुकुलता र विषय हेरेर कक्षा संख्या बढ्न सक्छ ।