काठमाडौं – सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारी बताउनु भएको छ ।
यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्याइएको छ । थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक बिक्री मूल्य २३ रुपैयाँ पुर्याइएको छ ।
न्यु शक्ति नुनको भाउ किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो ९ रुपैयाँ पुगेको छ । राजभण्डारीका अनुसार मूल्य बढेपनि कम्पनीलाई भने अझै पनि घाटा छ ।
यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८.५० रुपैयाँमा बेचिरहेको थियो । अब भने थोक बिक्रीमा २३ रुपैयाँ तोकिएको छ । यस अवस्थामा पनि कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनले जानकारी दिए ।
सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको उनको भनाइ छ । तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै घाटा चाहिँ नहुने अवस्थामा जाने योजना रहेको उनले बताए ।