नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा पक्राउ !

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा थापा १४ महिना अघिदेखि प्रहरीको फरार सूचीमा रहेका पूर्व गृहमन्त्री एवम् एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकलाई हिजो बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाबु रामबहादुर थापा गृहमन्त्री भएका बेला विचौलिया र गृह मन्त्रालयकै कर्मचारीसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो । अघिल्लो वर्ष चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार भएका थिए ।

उनी पछिल्लो ३ महिनादेखि काठमाडौँमा बसिरहेको सूचना प्रहरीसँग थियो । सो सूचना पछ्याउँदा उनी शुक्रवार साँझ कपनमा हिँड्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिए ।

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट एक करोड रुपैयाँ लिएको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो ।

१० जेठ २०८० मा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित ३० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भैसकेको छ । आरोपीहरूमध्ये १६ जना पक्राउ परेका थिए भने १४ जना फरार थिए । तिनै फरार मध्येका हुन्, प्रतीक थापा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...