काठमाडौं – गत वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई (कक्षा १०)को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।
७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।
सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
एसईईको नतिजा मोबाइलको एसएमएसमा SEE लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा पठाएर नतिजा थाहा पाउन सकिन्छ ।
यस्तै आईभीआरको माध्यमबाट पनि नतिजा हेर्न सकिन्छ । १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा सुन्न सकिन्छ । राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट result.see.gov.np/result मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।
यस्तै नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।