ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले एक सय ५४ जनाको मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा डा.रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो ।
सदरमुकाममा सञ्चालित आँखा शिविरलाई लक्षित गरी गाउँ–गाउँमा पुगेर मोतिविन्दु भएका रोगीको छनोट गरि बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको थियो ।
मोतिविन्दुको शल्यक्रिया गरिएका बिरामीलाई चस्मा र आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको नेत्रज्योति सङ्घ शाखाका उपसभापति खगेन्द्र अधिकारीले बताए ।
शिविरमा जिल्लाभित्र र पाँचथर तथा तेह्रथुमबाट बिरामी आएर सेवा लिएको नेत्रज्योति सङ्घका शाखा सभापति राजकुमार गुरुङले जानकारी दिए । शिविरमा एक हजार तीन सय २७ जनाले आँखा परीक्षण गराएका थिए ।
आँखा परीक्षण गराउनेमा पाँच सय ४६ पुरुष र सात सय ८१ महिला छन् । उल्लेख्य सङ्ख्यामा बालबालिकाले पनि शिविरमा आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको नेत्रज्योति सङ्घले जनाएको छ ।