पूर्वयुवराज पारस शाहले विद्यार्थीलाई पेस्तोल देखाएको आरोप !

काठमाडौं – पूर्वयुवराज पारस शाहले विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ आरोप लागेको छ ।

भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई पारसले गत बुधबार पेस्तोल ताकेको नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेश कार्यसमितिका सदस्य अनिल अधिकारीले दाबी गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणासँगै चितवन गएका उनी फर्केका छैनन् । तर, पूर्वराजा शाह र कोमल भने काठमाडौँ फर्किसकेका छन् ।

विद्यार्थी ओरालेर बस मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल ताकेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

गैंडाकोटमा रहेका पारसले गत बुधबार चितवनको भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ भन्दै सामाजिक संजालमा आलोचना भएको छ । सामाजिक संजाल प्रयोगकर्ता अनिल अधिकारीले त्यसबारे पोष्ट गरेर घटना अनुसन्धान गर्न आग्रह गरेका छन् ।

भरतपुर–८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी ओरालेर गाडी मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र मोड्न ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल ताकेको सामाजिक संजाल प्रयोगकर्ताले दाबी गरेका छन् । तर, प्रहरीले सो घटना आफ्नो नोटिसमा नभएको जानकारी दिएको छ ।

फेसबुकमा अधिकारीले लेख्छन्, ‘चितवनको सनराइज स्कूलको विद्यार्थी बोकिरहेको स्कूल बस ड्राइभरलाई केही दिनअघि पूर्वयुवराज पारस शाहले बन्दूक देखाएर तथानाम गाली गरेको घटनाको विषयमा स्कूलको प्रचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जानकारी लिएर फोनबाट चितवन प्रहरी प्रमुख भाबेश्वोर रिमाल, नेपाली कांग्रेस चितवनको पार्टी सभापति राजेश्वर खनाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, चितवन क्षेत्र नम्बर २ की सभासद शान्ती परियार, नेताहरू जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ, कृष्णराज लब्लीलाई जानकारी गराएको छु । केही विद्यार्थी र युवा नेताहरूलाई घटनाको जानकारी छ ।’

उनले घटनालाई गुपचुप राख्न खोजिएको समेत दाबी गरेका छन् । ‘सनराइज स्कूलको विद्यार्थी तथा स्टाफहरू सबलाई थाहा छ । उनीहरू सबै बोल्न डराइरहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्दै छ भनेर पन्छिएका छन् । विद्यार्थी बोकेर बस जाँदै गर्दा पछाडिबाट एउटा प्राइभेट कार तीव्र गतिमा गइरहेको रहेछ । कार टाढा नै भएकोले विद्यार्थी झार्न लाग्दा ती सन्की व्यक्तिले एकदमै चर्को स्वरमा हर्न बजाएछन । त्यसपछि गाडीबाट ओर्लिएर कोटको खल्तीबाट पिस्तोल जस्तो बस्तु निकालेर थर्काएर तुरुन्तै तीब्र गतिमा अघि बढेछन’ अधिकारीले लेखेका छन् ।

यता जिल्ला प्रहरी कार्यलय चितवनले भने घटनाको बारेमा कुनै जानकारी नआएको बताएको छ । चितवनका एसपी भावेश रिमालले  भरतपुरमा कसैले पेस्तोल देखाएको घटना आफूहरुलाई जानकारी नभएको बताए । उनले भने, ‘घटनाको बारेमा हामीलाई कुनै जानकारी छैन ।’ तस्विर : फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...